काठमाडौंमा आज (वैशाख १ गतेदेखि) रात्रिकालीन बस सेवा शुरू हुँदैछ । काठमाडौं महानगरपालिका र साझा यातायातको सहकार्यमा यस्तो बस सेवा सञ्चालन गर्न लागिएको हो ।
काठमाडौंमा राति ८ बजेपछि अन्य बसहरू चल्दैनन् । हजारौंको सङ्ख्यामा राति अबेरसम्म काम गर्नेहरूले बस पाउँदैनन् । यहाँसम्म कि कतिपय रुटमा ८ बजेमै पनि बस नपाउने अवस्था हुन्छ ।
८ बजेपछि बस नपाउने हो कि भन्ने डरमा सार्वजनिक यातायातमा मानिसहरूको धकेलाधकेल र ठेलमठेल देख्न सकिन्छ ।
राति ८, ९, १०, ११ बजेसम्म काम गर्नेहरूसँग आफ्नै सवारीसाधन हुनुपर्छ, होइन भने राइड सेयरिङमार्फत महँगो भाडा तिरेर जानुपर्ने बाध्यता रहेको छ ।
अब भने काठमाडौं महानगरपालिकाले रात्रिकालीन बस सञ्चालनमा ल्याएर ट्राफिक जाम घटाउन र राति अबेरसम्म काम गर्नेहरूका लागि पनि यातायातको सुविधा उपलब्ध गराउने भएको छ ।
काठमाडौंका २ रुटमा बेलुका ८ बजेदेखि ११ बजेसम्म रात्रि बस सञ्चालन गरिनेछ । बसमा सीसीटिभी क्यामेरा जडान गरी सुरक्षाका लागि नगर प्रहरी तैनाथ गरिने जनाइएको छ । यो सेवा महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा सञ्चालन गर्न लागेको हो ।
अब जानौँ, कहाँ-कहाँबाट चल्नेछन् रात्रिकालीन बस?
पहिलो रुट लगनखेलदेखि बुढानीलकण्ठ र बुढानीलकण्ठदेखि लगनखेलसम्म हुनेछ । अर्को रुट थानकोटदेखि त्रिभुवन विमानस्थलसम्म र विमानस्थलदेखि थानकोटसम्मको हुनेछ । यी दुई रुटमा गरी ४ वटा बस सञ्चालन हुनेछन् । साझा यातायातका विद्युतीय बस राति यी रुटमा चल्नेछन् ।
उत्तर–दक्षिण रुट : ललितपुरको लगनखेलबाट छुट्ने बस पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ । बुढानीलकण्ठबाट फर्कने बस सोही रुटमा गंगालाल, महाराजगञ्ज चोक, पानीपोखरी, लाजिम्पाट, जमल, थापाथली र पुल्चोक हुँदै लगनखेल आउनेछ ।
पूर्व–पश्चिम रुट : थानकोटबाट छुट्ने बस सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, जमल, भद्रकाली, माइतीघर, बानेश्वर र तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्नेछ । विमानस्थलबाट फर्कने बस तीनकुने, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, कलंकी र सतुंगल हुँदै थानकोट पुग्नेछ ।
यी रुटमा २० मिनेटको अन्तरालमा बस छुट्नेछन् र राति ११ बजेसम्म सञ्चालनमा रहनेछन् । उत्तर–दक्षिण रुट १६ किलोमिटर र पूर्व–पश्चिम रुट २० किलोमिटर लामो छ ।
रात्रिकालीन बस सञ्चालनको तयारी पूरा भइसकेको छ । वैशाख १ गतेदेखि काठमाडौंमा रात्रिकालीन बस सञ्चालनमा आउनेछन् ।
हेर्नुहोस्, भिडियो: