
भारतको बिहार राज्यमा भारतीय जनता पार्टी (भाजपा)को विधायक दलको नेता चयन भएसँगै राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले सम्राट चौधरीलाई आफ्नो नेता चयन गरेको छ । यससँगै उनी बिहारका नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।
यसअघि भाजपा वरिष्ठ नेता तथा बिहारका पर्यवेक्षक शिवराज सिंह चौहानले सम्राट चौधरीलाई भाजपा विधानमण्डल दलको नेता चयन गरिएको घोषणा गरेका थिए ।
मंगलबार नितीश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पटना शहरमा बसेको भाजपा विधायक दलको बैठकले चौधरीलाई नेता चयन गरेको हो ।
विधानमण्डल दलको नेता चयन भएपछि चौधरीले भारतीय जनता पार्टीको विचारधारा अनुसार देशलाई उत्कृष्ट बनाउने र पार्टीलाई अग्रस्थानमा राख्ने कार्यलाई निरन्तरता दिने बताए ।
उनले नितीश कुमारबाट सरकार सञ्चालन गर्ने तरिका सिकेको उल्लेख गर्दै विकसित भारत र समृद्ध बिहार निर्माणको लक्ष्य पूरा गर्न सबै मिलेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
पछिल्ला तीन दशकभन्दा बढी समयदेखि बिहारको राजनीति लालु यादव र नितीश कुमार वरिपरि केन्द्रित रहँदै आएको थियो । तर अब राज्यले नयाँ नेतृत्व पाउने भएको छ ।
भाजपा राज्य सरकारमा सहभागी भए पनि अहिलेसम्म नेतृत्वदायी भूमिकामा भने आउन सकेको थिएन । यस हिसाबले बिहार हिन्दी भाषी राज्यहरूमध्ये भाजपा नेतृत्वमा सरकार बन्न लागेको पहिलो अवसरका रूपमा हेरिएको छ ।