०२ साउन २०८३, शनिबार

निर्वाचन समीक्षाका आधारमा पार्टीलाई पुनर्गठित गरिन्छ : एमाले महासचिव

बैशाख २, २०८३
काठमाडौं
निर्वाचन समीक्षाका आधारमा पार्टीलाई पुनर्गठित गरिन्छ : एमाले महासचिव

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आम निर्वाचन २०८२ मा बेहोर्नु परेको पराजयको समीक्षाका आधारमा पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिने बताएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महासचिव पोखरेलले निर्वाचनमा बेहोरेको हारपछि एमाले यतिबेला समीक्षाको चरणमा प्रवेश गरेको जानकारी दिएका हुन्। अहिले वडा, पालिका र जिल्ला तहमा समीक्षाको काम तीव्रताका साथ सञ्चालन भइरहेको उनको भनाइ छ।

प्रदेशहरूबाट समीक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रीय सचिवालयका तर्फबाट एकीकृत प्रतिवेदन तयार गरिने महासचिव पोखरेलले उल्लेख गरेका छन्। समीक्षालाई थप प्रभावकारी र वस्तुनिष्ठ बनाउन केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावली तयार गरी पार्टीका अगुवा कार्यकर्ताहरूबाट व्यक्तिगत सुझावहरूसमेत सङ्कलन गरिरहेको उनले बताए । 

यी सम्पूर्ण तथ्य र प्राप्त सुझावहरूका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समीक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्ने महासचिव पोखरेलको भनाइ छ।

यसै संवेदनशील अवधिमा पार्टीलाई विवादित र कमजोर बनाउने उद्देश्यले नियोजित तथा प्रायोजित रूपमा विभिन्न प्रचारबाजी भइरहेको भन्दै उनले त्यस्ता भ्रामक प्रचारबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पङ्क्तिलाई हार्दिक अनुरोधसमेत गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्