
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक बसेको छ । नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार मध्याह्न विपक्षी दलहरूको बैठक बसेको हो ।
बैठकमा कांग्रेसबाट भिष्मराज आङदम्बे र अर्जुन नरसिंह केसी, नेकपा एमालेबाट पद्मा अर्याल र गुरु बराल सहभागी छन् ।
यसैगरी, नेकपा वर्षमान पुनलगायत सहभागी छन् ।
प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन शुक्रबार हुँदै छ । निर्वाचन कार्यक्रमअनुसार, बिहीबार अपराह्न १ देखि ४ बजेसम्म ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव दर्ता गर्ने कार्यसूची छ ।
उनीहरूबीच यसै विषयमा छलफल भैरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाका १०, राष्ट्रियसभाका चार र दुई संयुक्त समिति रहेका छन् ।
प्रतिनिधिसभाअन्तर्गत कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति रहेका छन् ।
संयुक्त समितिका रूपमा संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति रहेका छन् ।
हाल संसद्को पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हो । उसको लगभग दुईतिहाइ मत सदनमा छ । १८२ सांसद सहित रास्वपा संसद्को पहिलो शक्ति हो ।
३८ सिटसहित नेपाली कांग्रेस दोस्रो तथा २५ सिटसहित नेकपा एमाले तेस्रो दल बन्दै संसद्मा उपस्थित छन् ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिटसहित सदनमा उपस्थित जनाएका छन् ।