२१ असार २०८३, आइतबार

संविधान संशोधन विज्ञ समितिलाई कांग्रेसले दियो पूर्णता

बैशाख ६, २०८३
काठमाडौं
संविधान संशोधन विज्ञ समितिलाई कांग्रेसले दियो पूर्णता

नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ ।

पार्टी उपसभापति पुष्पा भुसाल नेतृत्वको समितिलाई आज पूर्णता दिइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

समिति सदस्यहरूमा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का सदस्य रहेका छन् ।

यस्तै सदस्यहरूमा वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने‚ वरिष्ठ अधिवक्ता शेरबहादुर केसी‚ वरिष्ठ अधिवक्ता यदुनाथ खनाल‚ वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे‚ वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारी रहेका छन् ।

यसबाहेक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी‚ वरिष्ठ अधिवक्ता सीताराम केसी‚ वरिष्ठ अधिवक्ता ललितकुमार बस्नेत‚ अधिवक्ता रनबहादुर थेबे‚ अधिवक्ता शर्मिला श्रेष्ठ‚ अधिवक्ता झलमाया विक र अधिवक्ता राजु कटुवाल रहेका छन् ।

समितिले संविधान निर्माणका क्रममा विभिन्न समुदाय, समूह, क्षेत्रबाट पहिचान लगायतका लागि भएका आन्दोलन, त्यस क्रममा सरकारले गरेका सम्झौता, विभिन्न समूह र अभियानले संविधान संशोधनका सन्दर्भमा राखेका माग र धारणाको अध्ययन विश्लेषण गर्ने कार्यक्षेत्र पाएको छ ।

यस्तै संविधान निर्माणपश्चात् कार्यान्वयनमा देखिएका समस्याको अध्ययन विश्लेषण गर्ने, संघीयता कार्यान्वयन र तहगत सरकार सञ्चालनमा देखिएका चुनौतीलगायतका विषयमा तहगत सरकार, विशेषज्ञ र सरोकारवालासँग संवाद समितिले गर्नुपर्ने छ ।

यस्तै भदौ २३ र २४ मा जेनजी पुस्ताको आह्वानमा भएको विद्रोहको भावनाअनुसार सुशासन र चुस्त सेवा प्रवाह तथा प्रतिनिधित्व लगायतका विषयमा उठेका माग र सम्झौतामा उल्लेखित विषयलाई अध्ययन गर्ने तथा फागुन २१ को निर्वाचनमा पार्टीले प्रतिज्ञापत्रमा उल्लेख गरेका संविधान संशोधनसँग सम्बन्धित विषयहरू अध्ययन गर्ने जिम्मेवारी पाएको छ ।

‘लोकतन्त्रका मूल्य-मान्यता, नागरिक अधिकार तथा समानुपातिक समावेशी सिद्धान्तलाई सङ्कुचित हुन नदिई त्यसलाई अझै फराकिलो र विस्तारित बनाउँदै संविधान जारी भएको एक दशकको अनुभवका आधारमा कार्यान्वयनको अवस्था र उपलब्धिलाई समीक्षा गरी सुझाव सहितको प्रतिवेदन उपलब्ध गराउने,’ कार्यक्षेत्रमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्