२६ जेठ २०८३, मंगलबार
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

नेपाल र यूएईबीच कीर्तिपुर क्रिकेट मैदानमा खेलिँदैछ ऐतिहासिक खेल

बैशाख ७, २०८३
काठमाडौं
नेपाल र यूएईबीच कीर्तिपुर क्रिकेट मैदानमा खेलिँदैछ ऐतिहासिक खेल

नेपाली क्रिकेट टोलीले सोमबार घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ ।

नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार साँझ ५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ ।

नेपाली पुरुष क्रिकेट टोलीले करिब दुई वर्षपछि कीर्तिपुर मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।

नेपालले कीर्तिपुर मैदानमा पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा आईसीसी सन् २०२४ को मार्च ५ तारिखमा नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी–२० शृंखलाको फाइनल खेलेको थियो ।

उक्त खेलमा नेपाली टोली चार विकेटले पराजित भएको थियो । आईसीसी विश्वकप लिग–२ शृंखलामा सहभागी तीन टोली नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच उक्त टी–२० शृंखला खेलिएको थियो । त्यसयता नेपाली टोलीले कीर्तिपुर मैदानमा अन्तर्राष्ट्रिय खेल खेलेको थिएन ।

सोमबार हुने यूएईविरुद्धको खेलमा नेपाली क्रिकेटका लागि अर्को अर्थमा पनि महत्त्वपूर्ण छ । यो खेल ‘फ्लड लाइट’मा खेलाइने छ । नेपाली टोलीले घरेलु मैदानमा पहिलो पटक ‘फ्लड लाइट’ मा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।

यसैगरी, कीर्तिपुरस्थित क्रिकेट मैदानले पनि यही खेलमार्फत् पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउने ऐतिहासिक उपलब्धि हासिल गर्नेछ । यद्यपि, यो रंगशालामा नेपाल प्रिमियर लिग (एनपीएल)को खेल भने फ्लड लाइट’मा खेलाइसकेको छ ।

नेपालले यूएईसँग दुई खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न लागेको हो । शृंखलाको दोस्रो खेल मंगलबार खेलिने छ । दोस्रो खेल पनि ‘फ्लड लाइट’मै खेलाइने छ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच हालसम्म कुल ११ खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा नेपालले यूएईलाई हराएको छ । पाँच खेलमा भने यूएईले नेपाललाई पराजित गरेको छ ।

नेपाल र यूएईबीच पछिल्लो भिडन्त सन् २०२५ को अक्टोबर १२ तारिखमा भएको थियो । निकै प्रतिस्पर्धात्मक उक्त खेलमा नेपालले यूएईमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

कीर्तिपुर मैदानमा भने हालसम्म यी दुई टोलीबीच एक खेलमात्र खेलिएको छ । सन् २०२३ को अक्टोबर २७ तारिखमा खेलिएको उक्त खेलमा यूएईले नेपाललाई चार विकेटले हराएको थियो ।

नेपाली टोलीले घरेलु मैदानमा भने यूएईसँग हालसम्म चारवटा टी–२० अन्तर्राष्ट्रिय खेलेको छ । बाँकी तीन खेल मूलपानी क्रिकेट मैदानमा खेलिएको हो । मूलपानी मैदानमा खेलिएको तीनवटै खेलमा नेपाली टोली विजयी भएको थियो ।

यूएईविरुद्धको पछिल्लो शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ । नियमित कप्तान रोहित पौडेललगायतका केही अनुभवी खेलाडी यो शृंखलामा सहभागी हुने छैनन् ।

दीपेन्द्रको कप्तानीमा रहेको टोलीमा बसिर अहमद, साहब आलम, कुशल भुर्तेल, लोकेश बम, हेमन्त धामी, गुलसन झा, सन्दीप जोरा, सन्दीप लामिछाने, कुशल मल्ल, शेर मल्ल, अर्जुन साउद, आसिफ शेख, नन्दन यादव र सन्तोष यादव रहेका छन् ।

नेपाल र यूएईबीचको टी–२० शृंखलापछि आईसीसी विश्वकप लिग–२ शृंखलाको अभ्यास खेल हुनेछ । लिग–२ प्रतियोगिताको अभ्यास खेल भने मूलपानी क्रिकेट मैदानमा खेलाइने छ ।

उक्त अभ्यास खेलमा नेपालको ‘ए’ टोलीले ओमानको सामना गर्नेछ । पहिलो अभ्यास खेल बुधबार र दोस्रो अभ्यास खेल शुक्रबार खेलिने छ ।

त्यसपछि, लिग–२ शृंखला सुरु हुनेछ । लिग–२ को यो शृंखलामा नेपाल, यूएई र ओमान सहभागी हुनेछन् । लिग–२ शृंखलामा नेपालले आफ्नो पहिलो खेल अप्रिल २५ तारिखमा यूएईसँग खेल्नेछ । लिग–२ शृंखलाका खेलहरू कीर्तिपुर मैदानमा खेलाइने छ ।

लिग–२ शृंखलाका लागि पनि नेपाली टोलीको घोषणा भइसकेको छ । लिग–२ शृंखलामा नियमित कप्तान रोहित पौडेलले नै टोलीको कप्तानी गर्नेछन् । दीपेन्द्रसिंह ऐरी भने उप–कप्तानको भूमिकामा रहने छन् ।

लिग–२ शृंखलाका लागि घोषित टोलीमा रोहित र दीपेन्द्रका अतिरिक्त, बसिर अहमद, विनोद भण्डारी, कुशल भर्तेल, गुलसन झा, सोमपाल कामी, करण केसी, अर्जुन कुमाल, सन्दीप लामिछाने, ललित राजवंशी, भीम सार्की, आरिफ शेख, आसिफ शेख र नन्दन यादव रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्