
एसिया-प्रशान्त क्षेत्रमा 'एजेन्टिक एआई' अपनाउने मामिलामा भारतले अरू देशहरूलाई निकै पछाडि छाडेको छ । 'आउटसिस्टम्स २०२६ स्टेट अफ एआई डेभलपमेन्ट'को पछिल्लो प्रतिवेदनअनुसार भारतमा एआई प्रयोग गर्ने विज्ञहरूको संख्या यस क्षेत्रमै सबैभन्दा बढी रहेको छ।
अष्ट्रेलिया र जापानजस्ता विकसित देशहरू अझै पनि एआईलाई पाइलट प्रोजेक्टकै रूपमा परीक्षण गरिरहेका बेला भारतले यसलाई पूर्ण उत्पादन र कार्यन्वयनको चरणमा पुर्याइसकेकोटेक वायर एसियाले जनाएको छ ।
भारतका ५० प्रतिशत उत्तरदाताहरूले एआईका कारण आईटी विकास र उत्पादकत्वमा वास्तविक प्रतिफल प्राप्त भइरहेको बताएका छन्, जुन विश्वकै उच्च दरमध्ये एक हो।
भारतमा एआई एजेन्टहरूलाई स्वायत्त रूपमा काम गर्न दिने विषयमा उच्चस्तरको भरोसा रहेको पाइएको छ, जबकि अन्य देशहरूमा अझै पनि मध्यमतहको मात्र विश्वास गरेको देखिएको समाचारमा उल्लेख छ ।
यद्यपि, पूरा एसियाली क्षेत्रमै पुराना प्रविधि र सफ्टवेयर प्रणालीहरूसँग एआईलाई जोड्ने चुनौती भने कायम नै छ। जापानमा विशेष गरी दक्ष जनशक्तिको अभावले एआई विस्तारमा बाधा पुर्याइरहेको छ। भारतको यो द्रुत गतिले आगामी दिनमा देशको समग्र डिजिटल अर्थतन्त्र र व्यवसायिक दक्षतामा ठूलो परिवर्तन ल्याउने संकेत गरेको छ।