
गर्भपतन गराउने क्रममा मृत्यु भएकी पाल्पाकी गीता पाण्डेको घटनामा जोडिएको दुई जना चिकित्सकलाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ ।
खत्री नर्सिङ होमका डा. डीबी खत्री र इन्दुलेखा क्लिनिक डा. शतिस रुपाखेतीलाई प्रहरीले पक्राउ गरेको हो । मृतक गीताका श्रीमान् प्रकाश पाण्डेले सोमबार डा. खत्री र रुपाखेतीसहित ५ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
अन्य तीन जना जोनस फार्मेसीका सञ्चालक सन्ध्या बस्नेत, निर्मल घर्ती मगर र इन्दूलेखा क्लिनिकका खगेन्द्र पाण्डेलाई प्रहरीले सोमबार नै पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी निशान्त श्रीवास्तवले डाक्टरसहित पाँच जनासँग प्रहरीले अनुसन्धान गरिरहेको बताए । ‘डाक्टर डीबी खत्री र शतिश रुपाखेती प्रहरी नियन्त्रणमा हुनुहुन्छ,’ डीएसपी श्रीवास्तवले भने, ‘उपचारमा उहाँहरूको भूमिका के थियो, घटना कसरी घट्न पुग्यो, उहाँहरूको इन्भलमेन्ट र ग्राभिटी प्रहरीले बुझ्दै छ ।’
पीडित परिवार र आफन्तले मंगलबार खत्री नर्सिङ होम, जोनस फार्मेसी र इन्दूलेखा क्लिनिकमा प्रदर्शन र तालाबन्दी गरी उपचार संलग्न डाक्टर र स्वास्थ्यकर्मीको लापरबाही भएको आरोप लगाउँदै दोषीलाई कारबाहीको माग गरेका थिए ।
पाल्पाको रिब्दीकोटकी २९ वर्षीया पाण्डेको आइतबार गर्भपतन गराउने क्रममा इन्दुलेखा फार्मेसीमा मृत्यु भएको थियो ।
गीताको ३ महिनाको गर्भको बच्चामा समस्या देखिएपछि गर्भपतन गराउन अस्पताल पुगेकी थिइन् ।
शुरूमा खत्री नर्सिङमा गएकी गीतालाई त्यहाँबाट डा. खत्रीले जोनस फार्मेसीमा पठाएका थिए । जोनसबाट उनलाई इन्दुलेखामा पठाएर डा. शतिससहितको टिमले गर्भपतन गराएको थियो ।
उनमा समस्या देखिएपछि नजिकैको लुम्बिनी सिटी अस्पतालमा लैजाँदै गर्दा उनको निधन भएको थियो ।
गीताका श्रीमान् प्रकाश पाण्डेले दोषीलाई कानूनअनुसार कारबाही नभएसम्म शव नबुझ्ने बताएका छन् ।
पढ्नुहोस्, यो पनि :
गीता पाण्डे मृत्यु प्रकरण : डाक्टरलाई कारबाहीको माग गर्दै आफन्तद्वारा अस्पताल घेराउ
गर्भपतनका लागि अस्पताल चहार्दा-चहार्दै अस्ताइन् २९ वर्षीया गीता