२२ जेठ २०८३, शुक्रबार
नयाँ लाइसेन्स

चौबीस घण्टामै प्रिन्ट हुने लाइसेन्सको नालीबेली– क्यूआरको खोस्टो मात्र कि नयाँ स्मार्ट कार्ड ?

बैशाख १०, २०८३
काठमाडौं

सुन्नुभएकै होला– ट्रायल पास भएको चौबीस घण्टाभित्रै लाइसेन्स । यो पनि सुन्नुभएको होला: के–के न होला भनेको, क्युआर प्रिन्ट गरेर पो दिने रहेछ ।

सामाजिक सञ्जालमा दुईथरी कुरा आइरहँदा पक्कै पनि तपाईंलाई वास्तविकता जान्न मन लागेको होला । आउनुहोस्, यो भिडियोमा म तपाईंलाई यसबारे विस्तृतमा जानकारी गराउँदैछु ।

अहिले वितरण भइरहेको लाइसेन्स पहिलेभन्दा फरक छ । पहिले लाइसेन्समा चिप्स राखिएको थियो भने अहिले प्रदान भइरहेको लाइसेन्समा क्युआर कोड प्रयोग भएको छ ।

पहिलेको लाइसेन्स र अहिलेको लाइसेन्समा कुन बढी प्रभावकारी र सुरक्षित छ? अहिलेको लाइसेन्समा के कति विशेषता रहेका छन्? हामी आजको भिडियोमा यही विषयमा रहेर तपाईंहरूलाई जानकारी दिनेछौं ।

नयाँ सरकार गठन भएसँगै सवारी चालक अनुमतिपत्र वितरण प्रणालीमा परिवर्तन देखिन थालेको छ । सरकारले छिटो, सहज र पारदर्शी सेवा दिने लक्ष्यसहित राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स वितरण गर्ने अभ्यास अघि बढाएको छ । यससँगै अहिले वितरण भइरहेका लाइसेन्सहरू पहिलेकाभन्दा फरक स्वरूपमा आएका छन् ।

पहिले प्रयोग हुँदै आएको लाइसेन्समा माइक्रोचिप जडित स्मार्ट कार्ड प्रयोग गरिन्थ्यो । तर अहिले भने क्युआर कोडमा आधारित नयाँ स्मार्ट कार्ड लागू गरिएको छ । दुवै स्मार्ट कार्ड भए पनि प्रविधि र प्रयोगका हिसाबले उल्लेखनीय भिन्नता देखिन्छ ।

यातायात व्यवस्था विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर केशव खतिवडाका अनुसार चिप्सयुक्त लाइसेन्सको विवरण पढ्न विशेष उपकरण आवश्यक पर्थ्यो, जुन सीमित व्यक्तिसँग मात्र उपलब्ध हुन्थ्यो । तर, क्युआर कोड भएको लाइसेन्स भने सामान्य स्मार्टफोनबाटै स्क्यान गरेर हेर्न सकिन्छ । विश्वका धेरै देशहरू पनि चिप्सबाट क्युआर प्रणालीतर्फ सरेको उनले बताए ।

अर्को महत्त्वपूर्ण पक्ष उत्पादन प्रक्रिया हो । चिप्सयुक्त कार्ड नेपालमै छापिँदैनथ्यो । विदेशबाट टेन्डरमार्फत ल्याउनुपर्ने भएकाले ढिलाइ र झन्झट हुने गरेको थियो । तर अहिलेको क्युआरयुक्त कार्ड भने स्वदेशमै छापिने भएको छ । सुरक्षण मुद्रण केन्द्रको सहयोगमा नेपाल सरकारकै मशिन प्रयोग गरी आवश्यक सामग्री आयात गरेर कार्ड छपाइ भइरहेको छ । यसले समय र लागत दुवै घटाएको छ ।

सुरक्षाको हिसाबले पनि नयाँ लाइसेन्स बलियो भएको दाबी गरिएको छ । पहिलेको कार्डमा १८ वटा मात्र सुरक्षा विशेषता थिए भने अहिलेको क्युआर कार्डमा ३७ वटा विशेषता समावेश गरिएको विभागको दाबी छ । क्युआर कोडमा समेत तीन तहको सुरक्षा प्रणाली राखिएको छ — पहिलो सर्वसाधारणका लागि, दोस्रो ट्राफिक प्रहरीका लागि विस्तृत विवरणसहित र तेस्रो केन्द्रीय डेटाबेससँग जोडिएको प्रणाली ।

लाइसेन्स वितरण प्रक्रियामा पनि केही स्पष्टता ल्याइएको छ । ट्रायल पास गरेपछि तुरुन्त लाइसेन्स पाइँदैन । राजस्व तिरेपछि मात्र प्रक्रिया अघि बढ्छ, जसका लागि १८ महिनासम्मको समय तोकिएको छ ।

दैनिक बेलुका ५ बजे देशभरका ४२ वटा यातायात कार्यालयबाट राजस्व तिरेका सेवाग्राहीको विवरण संकलन गरी प्रिन्टिङ प्रक्रिया शुरू गरिन्छ । त्यसपछि तयार भएका लाइसेन्स सम्बन्धित कार्यालयमा पठाइन्छन् ।

हाल लाइसेन्स छपाइ कार्य अन्तिम चरणमा पुगेको छ । २०८२ कार्तिक १२ गते भएको सम्झौताअनुसार ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने लक्ष्य राखिएकोमा हालसम्म करिब ८ लाख छापिइसकेको र बाँकी केही दिनमै पूरा हुने विभागको दाबी छ । तीमध्ये ७ लाखभन्दा बढी सम्बन्धित कार्यालयमा पठाइसकिएको खतिवडाले बताए ।

सेवा प्रवाहमा सुधारको सरकारी दाबीबीच सेवाग्राहीको अनुभव भने मिश्रित देखिन्छ । एकान्तकुना यातायात कार्यालयमा भेटिएका सेवाग्राही वीरबहादुर थापा मगरले कर्मचारीले मनपरी ढंगले काम गर्ने र ट्रायलमा पक्षपात हुने गरेको गुनासो गरे ।

अर्का सेवाग्राही राताकाजी शाहीले तीन वर्षदेखि लाइसेन्स नपाएको भन्दै अझै सुधार नभएको बताए ।

लाइसेन्स नवीकरण गर्न आएका वीरेन बोहोराले भने नयाँ व्यवस्थामा सुधार आएको र बिचौलिया अन्त्य भएको भन्दै सरकारप्रति सन्तुष्टि व्यक्त गरे ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका अधिकृत महेश आचार्यका अनुसार कार्यालयमा अझै अत्यधिक चाप छ ।

हाल एकान्तकुनाबाट मात्र ४ लाखभन्दा बढी लाइसेन्स वितरण गर्न बाँकी रहेको उनले जानकारी दिए । अहिलेको सेवा प्रणाली पारदर्शी र बिचौलियामुक्त बनाउने प्रयास भइरहेको उनको भनाइ छ ।

सेवाग्राहीबाट मिश्रित प्रतिक्रिया आए पनि चिप्सबाट क्युआरमा गरिएको परिवर्तनले लाइसेन्स प्रणालीलाई सरल, छिटो र पहुँचयोग्य बनाएको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्