
यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो खेलमा सार्विक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी)ले रोमाञ्चक जित हासिल गरेको छ ।
फ्रान्सेली क्लब पीएसजीले बुधबार बिहान सम्पन्न खेलमा बलियो जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखमाथि ५–४ गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।
च्याम्पियन्स लिगको इतिहासमा यो कीर्तिमानी खेल पनि बन्न पुग्यो । पछिल्लो ६६ वर्षयता च्याम्पियन्स लिगको सेमिफाइनलमा भएको यो सर्वाधिक गोल हो ।
यसअघि, सन् १९५९–६० सिजनमा युरोपियन प्रतियोगिताको सेमिफाइनलमा नौ गोल भएको थियो । त्यतिबेला जर्मन क्लब आइन्ट्राक्ट फ्रान्कफर्टले स्कटिस क्लब रेन्जर्सलाई ६–३ गोलले हराएको थियो ।
बायर्न म्युनिखविरुद्धको खेलमा पीएसजीका लागि ख्विचा क्यारत्स्खेलिया र उस्मान डेम्बेलले दुई–दुई गोलको योगदान गरे । जोआओ नेभेसले पनि एक गोल थपे ।
बायर्न म्युनिखका लागि भने प्रभावशाली खेलाडी ह्यारी केन, डायोट उपमेकानो, लुइस डियाज र माइकल ओलिसले एक–एक गोल गरेका थिए ।
पीएसजी र बायर्न म्युनिखबीचको दोस्रो सेमिफाइनल खेल आगामी मे ६ तारिखमा खेलिने छ ।
बुधबार राति एट्लेटिको म्याड्रिड र आर्सनलबीच सेमिफाइनलको पहिलो लेग खेल खेलिने छ ।