
पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने दाङको धानखोलादेखि लमहीसम्मको सडक विस्तार शुरू भएको छ ।
सडक स्तरोन्नतिको बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गरे । ४० किलोमिटर लामो यो सडक नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपरपेभ आस्फाल्ट जस्ता प्रविधि प्रयोग गरिने भएको छ ।
यो प्रविधिले पुराना सामग्री पुन:प्रयोग गर्दै सडकलाई बलियो, टिकाउ र वातावरणमैत्री बनाउनेछ । यसबाट दीर्घकालीन रूपमा लागत घट्ने र सडक मर्मतको गुणस्तर बढ्ने अपेक्षा गरिएको छ ।
आयोजनाअन्तर्गत सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई–दुई मिटर सोल्डर निर्माण गरी कूल १२ मिटर चौडाइ कायम गरिनेछ ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री आचार्यले अत्याधुनिक प्रविधिको प्रयोग सराहनीय भएको बताए । उनले यस सडक स्तरोन्नतिले यात्रालाई सुरक्षित र भरपर्दो बनाउनुका साथै स्थानीय व्यवसाय, कृषि र उद्यममा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।
नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण उदाहरणका रूपमा यस आयोजनालाई लिनुपर्ने बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले एमसीए–नेपालको लगानी सरकारका योजना तथा कार्यक्रमको पूरकका रूपमा रहेको बताए ।
सडक खण्ड स्तरोन्नतिका लागि सन् २०२४ अक्टोबर ३० मा बोलपत्र आह्वान गरिएको थियो । निर्माणको जिम्मा शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त उपक्रम शर्मा–कुमार जेभीले पाएको हो ।
गत पुस ७ गते एमसीए–नेपाल र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनाको निर्माण कार्य २४ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ ।
निर्माण कम्पनीले भ्याटबाहेक दुई करोड आठ लाख अमेरिकी डलर (करिब तीन अर्ब रूपैयाँ)मा काम गर्ने जिम्मा लिएको छ । नेपाल सरकारको मापदण्डअनुसार स्तरोन्नति गरिने सडकमा गाडी गुड्ने भाग ७ मिटर चौडा र दुवैतर्फ २.५–२.५ मिटर कालोपत्रे सोल्डर रहने गरी कूल १२ मिटर चौडाइ कायम गरिनेछ ।
उक्त सडक खण्डमा प्रयोग हुने फूल–डेप्थ रिक्लेमेशन र सुपरपेभ प्रविधिअन्तर्गत सडकमा प्रयोग भएका अधिकांश पुराना निर्माण सामग्री प्रशोधन गरी पुन: प्रयोग गर्न सकिनेछ ।
यसअन्तर्गत बालुवा, गिट्टीलगायत सामग्रीलाई पुन: प्रयोग गर्दा लागत घट्नुका साथै वातावरणीय प्रभाव पनि न्यून हुन्छ । यस प्रविधिबाट निर्माण गरिने सडक थप बलियो, टिकाउ र जलवायुमैत्री हुने बताइएको छ ।