
सार्वजनिक शान्ति भंग गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–११ स्थायी ठेगाना भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ बस्दै आएका ४५ वर्षीय देवीप्रसाद संग्रौला रहेका छन्।
प्रहरीका अनुसार उनले सामाजिक सञ्जाल तथा युट्युबमार्फत् विभिन्न जिल्लामा पुगेर वित्तीय संस्थाबाट ऋण लिएका व्यक्तिहरूलाई भेला गराई बैंक तथा वित्तीय संस्थाविरुद्ध भड्किलो अभिव्यक्ति दिँदै आएका थिए ।
संग्रौलाले बैंक तथा वित्तीय संस्थाले ऋण असुलीका लागि कर्मचारी पठाएमा लखेट्न, भौतिक आक्रमण गर्न तथा कालोमोसो दल्न उक्साउने अभिव्यक्ति दिएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौं महानगरपालिका–९ स्थित एयरपोर्ट गेटबाट पक्राउ गरेको हो ।
पक्राउपछि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।