२२ असार २०८३, सोमबार

वैकल्पिक व्यवस्था नगरी सुकुम्वासी बस्तीमा डोजर लगाएकोप्रति विपक्षी तीन दलको आपत्ति

९ बुँदे मागसहित सरकारको संयुक्त ध्यानाकर्षण
बैशाख १७, २०८३
काठमाडौं
वैकल्पिक व्यवस्था नगरी सुकुम्वासी बस्तीमा डोजर लगाएकोप्रति विपक्षी तीन दलको आपत्ति

संघीय संसद्‌मा प्रतिपक्षमा रहेका तीन दलले सुकुम्वासी बस्ती हटाउने सरकारको कार्य र विभिन्न पेशागत संगठनहरू खारेज गर्ने निर्णयप्रति कडा आपत्ति जनाएका छन् । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा बिहीबार बसेको तीन दलको बैठकले सरकारका पछिल्ला कदमहरू जनविरोधी र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको हो । 

बैठकमा एमालेसहित नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहभागी थिए । बैठकमा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापा र नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलाल सहभागी थिए । 

उनीहरूले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बसोबास गरिरहेका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूको लगत संकलन र वैकल्पिक आवासको व्यवस्था नगरी बस्ती हटाउन शुरू गरिएको भन्दै सरकारको कार्यशैलीको विरोध गरेका छन् । संविधानले आवासको हक सुनिश्चित गरेको स्मरण गराउँदै बैठकले गर्भवती, सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकलाई त्रसित बनाउने कार्य तत्काल रोकी सुरक्षित बसोबासको दीर्घकालीन समाधान खोज्न माग गरेको छ। 

यसैगरी, सरकारले आफ्नो शासकीय सुधारको योजनाअन्तर्गत विद्यार्थी संगठन, ट्रेड युनियन र राष्ट्रसेवक कर्मचारीका संगठनहरूमाथि नियन्त्रण गर्ने र खारेज गर्ने निर्णय गरेकोमा विपक्षीले यसलाई दुर्भाग्यपूर्ण कदम भनेका छन्। 
लोकतन्त्र र गणतन्त्र स्थापनामा विद्यार्थी र मजदुर संगठनहरूको ऐतिहासिक भूमिnullnullका रहेको उल्लेख गर्दै ती संगठनहरूमाथि अंकुश लगाउने निर्णय अभिलम्ब फिर्ता नलिए गम्भीर परिस्थिति सिर्जना हुने चेतावनी विज्ञप्तिमा दिइएको छ।

बजारमा चुलिएको महँगी र कृत्रिम अभावका विषयमा पनि विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। भान्सामा प्रयोग हुने दैनिक उपभोग्य वस्तुहरूको मूल्यले आकाश छोएको र पेट्रोलियम पदार्थमा भएको पटक-पटकको वृद्धिका कारण ढुवानी र उत्पादन लागत बढ्न गई सर्वसाधारणको जनजीवन कष्टकर बनेको बैठकको ठहर छ । 

कालोबजारी नियन्त्रण गरी गरीब र सीमान्तकृत समुदायका लागि सार्वजनिक वितरण प्रणालीमार्फत सुपथ मूल्यका पसलहरू सञ्चालन गर्न र उपभोक्तालाई राहत प्याकेज घोषणा गर्न उनीहरूले जोडदार माग गरेका छन् ।

अन्तर्राष्ट्रिय परिस्थिति र कृषि क्षेत्रको संकटका विषयमा पनि विपक्षी मोर्चाले सरकारलाई सचेत गराएको छ। अमेरिका, इजरायल र इरानबीचको तनावले रासायनिक मलको आपूर्तिमा थप समस्या आउन सक्ने भन्दै वर्षे सिजनका लागि समयमै मलको जोहो गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। 

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रिया शुरू गरिसकेको अवस्थामा विपक्षी दलहरूलाई पूर्ण रूपमा बेवास्ता गरिएकोमा पनि बैठकले असन्तुष्टि जनाएको छ । बजेट तयारीको प्रक्रियालाई पारदर्शी र लोकतान्त्रिक बनाई सबै पक्षको आवाज समेट्न विपक्षी तीन दलले सरकारसमक्ष माग गरेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्