
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको शुक्रबारको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अर्जुन कुमालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका छन् ।
यसैगरी, कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिन लागेको यो एक सयौँ अन्तर्राष्ट्रिय खेल पनि हो ।
त्यसैले यो खेल ऐतिहासिक पनि हो ।
यसका अतिरिक्त, यही खेलमार्फत नेपाली टोलीका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले पनि लिग–२ प्रतियोगितामा एक सय विकेटको कोशेढुङ्गा पार गर्ने सम्भावना छ ।
नेपाली समय अनुसार, विहान ९:३० बजे सुरु हुनुपर्ने खेल आउट फिल्ड भिजेका कारण निर्धारित समयभन्दा केही ढिलो शुरू हुनेछ ।
जारी शृंखलामा नेपाल र यूएई दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि, जारी शृंखलाको पहिलो खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको थियो । यो शृंखलामा नेपाल र यूएई दुवैले आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् ।
नेपाली टोली आफ्नो दोस्रो खेलमा ओमानसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय दुई रनको विशाल अन्तरले पराजित भएको थियो ।
यूएईले भने आफ्नो दोस्रो खेलमा ओमानलाई २५ रनले हराएको थियो ।
नेपाल र यूएईबीच हालसम्म १८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलिएको छ । त्यसमध्ये १० खेलमा नेपालले यूएईलाई पराजित गरेको छ । बाँकी आठ खेलमा यूएई विजयी भएको छ ।
कीर्तिपुर अन्तर्राष्ट्रिय मैदानमा भने यसअघि यी दुई टोलीबीच सातवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलिएको छ । त्यसमध्ये ६ खेलमा नेपाल र एक खेलमा यूएई विजयी भएका छन् ।

जारी शृंखलामा पनि नेपाली टोली आफ्नो परम्परागत समस्याबाट मुक्त हुन सकेको देखिँदैन । अघिल्ला दुवै खेलमा नेपाली टोलीका ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक देखिएको छैन ।
आठ राष्ट्र सहभागी लिग–२ प्रतियोगिताको अंक तालिकामा पनि नेपालको अवस्था सन्तोषजनक छैन । त्यसैले घरेलु मैदानमा जारी यो शृंखलाबाट बढी अंक बटुल्नु आवश्यक छ ।
लिग–२ तालिकामा २४ खेलबाट ३६ अंक जोडेको अमेरिका पहिलो, २८ खेलबाट ३४ अंक बटुलेको स्कटल्यान्ड दोस्रो र २६ खेलबाट ३१ अंक हात पारेको ओमान तेस्रो स्थानमा छन् ।
यसैगरी, २४ खेलबाट २८ अंक जोडेको नेदरल्यान्ड्स चौथो र २८ खेलबाट २२ अंक हात पारेको नामिबिया पाँचौँ स्थानमा आसिन छन् ।
यसैगरी, २४ खेलबा २१ अंक जोडेको क्यानडा छैटौँ, २२ खेलबाट १४ अंक हात पारेको नेपाल सातौँ र २२ खेलबाट १२ अंक बटुलेको संयुक्त अरब इमिरेट्स (यूएई) आठौँ स्थानमा छन् ।
सहभागी टोलीहरुका लागि लिग–२ प्रतियोगिता निकै महत्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रुपमा रहेको छ ।
लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् ।
लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्ने हुन्छ ।
यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट प्राप्त एकदिवसीय मान्तयता जोगाउन पनि यो प्रतियोगिताको महत्वपूर्ण भूमिका रहन्छ ।
हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ ।