
आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको पछिल्लो शृंखलामा नेपाली टोलीका अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले लगातार तेस्रो अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार जारी संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा पनि उनले अर्धशतक बनाएका हुन् ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका अलराउन्डर दीपेन्द्रले ५३ बलमा ५० रन बनाएका हुन् ।
जारी लिग–२ शृंखलामा यसअघि उनले यूएईविरुद्ध ९० बलमा ७५ रन बनाएका थिए । त्यसलगत्तै ओमानविरुद्धको खेलमा पनि उनले ६२ बलमा ६० रन बनाएका थिए ।
७१औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका २६ वर्षीय दीपेन्द्रले यो ढाँचाको क्रिकेटमा आठौँ अर्धशतक बनाएका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक शतक पनि बनाएका छन् ।