
नेपाली कांग्रेसले नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा हुँदै कैलाश मानसरोवरको यात्रा सुचारू गर्ने गरी भारत र चीनबीच भएको सहमतिप्रति ध्यानाकर्षण भएको जनाएको छ । यो विवादको निरूपण कूटनीतिक रूपमा समाधान गर्नुपर्ने कांग्रेसको निष्कर्ष छ ।
सोमबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले लिपुलेक समस्या कूटनीतिक रूपमा समाधान गर्नुपर्ने निष्कर्ष निकालेको सहमहामन्त्री उदयशमशेर जबराले जानकारी दिए ।
'लिपुलेक हुँदै भएको सहमतिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । यससम्बन्धमा सरकारले पठाएको कूटनीतिक नोटलाई हामीले सकारात्मक रूपमा लिएका छौं,' जबराले भने ।
सुगौली सन्धि र त्यसपछिका तथ्य र प्रमाणका आधारमा कूटनीतिक रूपमा लिपुलेक विवादको समाधान गर्नुपर्ने धारणा राखेको छ । 'सुशील कोइराला प्रधानमन्त्री रहेको समयमा हामीले कूटनीतिक नोट पठाएका थियौं, त्यसैले यसको शुरूआत कांग्रेस सरकारले गरेको हो,' जबराले भने ।
कांग्रेसले यो विषयमा सबै राजनीतिक दलको सहमति लिएर बढ्न सरकारसँग आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले हिजो मात्र लिपुलेक सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको थियो ।