२२ जेठ २०८३, शुक्रबार
फेरि सर्‍यो सञ्चालनको भाका

नागढुङ्गा सुरुङमार्ग साउनबाट मात्रै सञ्चालनमा आउने, हुँदैछ २४ सै घण्टा काम

बैशाख २१, २०८३
काठमाडौं

गत दशैं-तिहारबाट नै सञ्चालनमा आउने भनिएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको भाका फेरि सरेको छ ।

आगामी साउनको दोस्रो सातादेखि मात्रै सुरुङमार्ग सञ्चालनमा आउने सुरुङमार्ग सञ्चालनको जिम्मा पाएको 'युसीन–एआरटी जेभी'ले जनाएको छ ।​

कुल १ अर्ब १० करोड ४० लाख रुपैयाँमा कम्पनीले ५ वर्षसम्म सुरुङमार्ग सञ्चालन र व्यवस्थापनको जिम्मा पाएको हो ।

व्यवस्थापनको जिम्मा पाएसँगै अब सेवा प्रदायक कम्पनीले तीन महिनाभित्र जनशक्तिलाई तालिम दिएर सुरुङ सञ्चालनमा ल्याउने छ । सोहीअनुसार अर्को सातादेखि सेवा प्रदायकले १५० जना २४ सै घण्टा खटाउने तयारी गरेको छ ।

सोमबार पूर्वाधार विकास समितिको टोली सुरुङमार्गको स्थलगत रिपोर्टिङ लिन पुगेको थियो । समितिका सभापति आशिष गजुरेलले काम सम्पन्न भइसक्दा पनि सुरुङमार्ग सञ्चालनमा नआउनुले हेलचेक्य्राइँ गरेको जस्तो देखिएको बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभाग आफैंले लिएको लक्ष्य पनि पूरा गर्न नसकेर ढिलासुस्ती गरिएको उनको भनाइ थियो ।

सन् २०१६ मा जापान सरकारसँग १६ अर्ब ८ करोड रुपैयाँ ऋण सहयोग लिएर शुरू गरिएको यस आयोजनाको निर्माण सम्पन्न गर्ने अवधि २०२३ अप्रिल २५ मा थियो । दुई पटक म्याद थपेर यसको अवधि २०२५ अक्टोबर २५ सम्म थियो । जुन अहिले ९९ प्रतिशत काम सम्पन्न भई हस्तान्तरणको काम मात्रै बाँकी रहेको जनाइएको छ ।

कुल २२ अर्ब लागतमा बन्ने यो सुरुङमार्ग जापानको जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)मार्फत् जापानकै हाजमा एण्डो कर्पोरेशनले निर्माणको ठेक्का पाएको थियो ।

यस कम्पनीसँग सन् २०१९ सेप्टेम्बर २३ मा ठेक्कासम्बन्धी सम्झौता गरिएको थियो । अहिले सबै खर्च र लागत वृद्धि जोड्दा यसको कुल लागत २८ अर्बको हाराहारीमा जाने आयोजनाले जनाएको छ ।

हेर्नुहोस्, भिडियो : 

 

salt training

कमेन्ट गर्नुहोस्