
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी संगठन, संसदीय दल र सरकारबीचको सम्बन्धलाई थप सुदृढ, प्रभावकारी र नीतिगत रूपमा एकरूपता कायम गर्न १० सदस्यीय ‘पार्टी–संसद र सरकार समन्वय समिति’ गठन गरेको छ ।
पार्टीको हालै बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री भूप देव शाहको संयोजकत्वमा उक्त समिति निर्माण गरेको हो ।
नवनिर्मित समितिमा सरिताश्री ज्ञवाली उपसंयोजक र राम कुमार ढुंगाना सदस्य सचिव रहेका छन् भने सदस्यहरूमा रवि किरण अधिकारी र विशाल अधिकारी चयन भएका छन् । त्यसैगरी, संसदीय दल र पार्टीबीचको प्रत्यक्ष संवाद र समन्वयका लागि सांसदहरू अरविन्द साह, करिष्मा कठरिया, मनिष खनाल, रमेश सापकोटा र श्रृष्टि भट्टराईलाई समितिको सदस्यका रूपमा जिम्मेवारी दिइएको छ ।
यस समितिको गठन र यसले गर्ने कार्यसम्पादनका विषयमा जानकारी दिँदै रास्वपाका प्रवक्ता मनिष झाले पार्टीको संस्थागत सुदृढीकरणका लागि यो कदम चालिएको बताए । प्रवक्ता झाले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाकालदेखि नै सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई आफ्नो मूल मन्त्र मान्दै आएको छ । हाम्रो पार्टी संगठन, संसदीय दल र सरकारमा सहभागी हुने पदाधिकारीहरूबीच नीति निर्माण र कार्यान्वयनको तहमा कुनै पनि द्विविधा नहोस् र पार्टीको नीति तथा निर्वाचन प्रतिबद्धताहरू सरकारी कार्ययोजनामा प्रभावकारी रूपमा प्रतिविम्बित हुन् भन्नका लागि यो समन्वय समिति बनाइएको हो ।”
यो समितिले निर्णय प्रक्रियालाई व्यवस्थित र प्रमाणमा आधारित बनाउनुका साथै पार्टीको आधिकारिक सन्देश र सार्वजनिक संवादमा एकरूपता ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने रास्वपाको विश्वास छ ।