
हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ गरेका छन् ।
काठमाडौं महानगरपालिका–२९ इन्द्रचोकस्थित एक सुनचाँदी पसलमा हतियार देखाइ लुटपाटको प्रयास गरेको अभियोगमा दुई जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।
लुटपाटमा संलग्न भक्तपुरको थिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक र काठमाडौं महानगरपालिका–१९ डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
उनीहरूबाट चिनियाँ पेस्तोल र त्यसको म्यागजिन, गोली र एक थान तथा सो समयमा प्रयोग भएको कपडा र स्कुटरसमेत बरामद गरिएको काठमाडौं परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
उनीहरूले गत पुस २१ गते काठमाडौं महानगरपालिका–२५ मासन गल्लीस्थित एक होलसेल पसलमा पनि पेस्तोल देखाई दुई तोलाको सुनको सिक्री, नगद चार लाख, मोबाइल र सीसीटिभीसमेत लुटेको अनुसन्धानका क्रममा खुलेको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।