
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटका क्रममा उनीहरूबीच नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध, शिक्षा, विकास साझेदारलगायत विषयमा छलफल भएको थियो ।
विशेषगरी उनीहरूबीच उच्च शिक्षामा अन्तरदेशीय शिक्षा प्रबन्धका क्षेत्रमा दुई देशबीच सहकार्यको सम्भावनाका विषयमा छलफल भएको थियो ।
भेटमा शिक्षामन्त्री पोखरेलले अस्ट्रेलियन उच्च शिक्षाका राम्रा कार्यक्रममा सहकार्य र साझेदारिताका विषयमा सकारात्मक रहेको भन्दै ती विषयमा कानूनी प्रबन्धका लागि पहल गरिने विश्वास व्यक्त गरे ।
मन्त्री पोखरेलले विश्वस्तरीय शिक्षा नेपालमै दिनेगरी नीतिगत सुधार गरेर जानुपर्नेमा जोड दिए ।
उनले विद्यालय शिक्षा क्षेत्रमा सुधारका अरू विकास साझेदारहरूसँग जस्तै अस्ट्रेलियासँग पनि सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताए ।
राजदूत अन्स्र्टले उच्च शिक्षामा अन्तरदेशीय शिक्षा प्रबन्धकका बारेमा चासो व्यक्त गर्दै उच्च शिक्षाका राम्रा अस्ट्रेलियन कार्यक्रमहरूमा साझेदारी गर्ने इच्छासमेत व्यक्त गरेका छन् ।