
२०५८ सालदेखि विभिन्न विधाका सर्जकलाई सम्मान गर्दै आएको पन्त स्मृति प्रतिष्ठानले यस वर्षको रामराज पन्त स्मृति सम्मान लोकान्तर डट्कमका आध्यात्मिक स्तम्भकार आचार्य कमल रिजाललाई प्रदान गरेको छ ।
उनलाई सो पुरस्कार शकुन्तला उपन्यासका लागि प्रदान गरिएको हो । रिजालको सो उपन्यास शिखा बुक्सले प्रकाशित गरेको छ ।
वेद, पुराण तथा उपनिषद आदिका विषयवस्तुमा आधारित भएर लेखिएको उपन्यास शकुन्तलाले समाजमा धर्मको आडमा वर्षौंदेखि जरा गाड्दै आएको कुरीति, कुप्रथा तथा कुसंस्कारको विरोध गर्दै महिला सशक्तिकरणमा जोड दिएको छ ।
उपन्यास, निबन्ध, प्रबन्ध तथा नीतिकथा आदि गरी २१ वटा कृति प्रकाशित गराइसकेका आचार्य रिजालले हाल लोकान्तर टीभीमा महाभारत ज्ञानमाला नामक साप्ताहिक आध्यात्मिक भिडियो स्तम्भसमेत सञ्चालन गर्दै आएका छन् ।
त्यसैगरी, प्रतिष्ठानले यस वर्षको समालोचना विधाको टीका–मुकुन्द पन्त स्मृति सम्मान पुरस्कार पूर्वसचिव तथा पूर्व महालेखा नियन्त्रक, साहित्यकार गोपी मैनालीलाई प्रदान गरेको छ । करिब एक दर्जन जति कृतिका कृतिकार मैनाली लोकान्तर डटकमको स्तम्भकार हुन् ।

त्यस्तै, यस वर्षको बालसाहित्य विधाको सुशीला पन्त स्मृति बालसाहित्य सम्मान पुरस्कार बाल साहित्यकार कार्तिकेय घिमिरेलाई प्रदान गरिएको छ । उनले बालसाहित्यसम्बन्धी थुप्रै कृति प्रकाशित गराइसकेका छन् ।
प्रतिष्ठानले यस वर्षको हास्यव्यङ्ग्य विधाको गोपालराज पन्त स्मृति सम्मान पुरस्कार कलाकार मनोज गजुरेललाई प्रदान गरेको छ । गजुरेल नेपालका स्थापित हास्य कलाकारमा पर्दछन् ।
त्यस्तै, अन्य प्रतिभाहरूमा बालनृत्यमा सदिच्छा बालप्रतिभा पुरस्कारबाट सुमना थापा, क्याम्पस्तरीय चित्रकलामा सीताश्री स्मृति सम्मान पुरस्कारबाट कलाकार रसिक राई, साहित्यिक पत्रिका विधामा इन्दिरा–बन्धु पन्त स्मृति सम्मान पुरस्कारबाट हाम्रो पुरुषार्थ त्रैमासिक पत्रिका गुल्मी, सम्पादक शशी पन्थी, अपाङ्गता तथा समाजसेवामा आमा इन्दिरा पन्त स्मृति सम्मान प्रतिभा पुरस्कारबाट समीक्षा घिमिरे पुरस्कृत भएका छन् ।
कार्यक्रममा प्रतिष्ठानको श्रीवृद्धिमा २५ वर्षदेखि अमूल्य सुझाव र सल्लाह दिँदै आएका प्रा.डा. वीणा पौड्याल, रोचक घिमिरे, रामप्रसाद पन्त, ठाकुर शर्मा भण्डारी र माणिकरत्न शाक्यलाई अभिनन्दन गरिएको थियो ।
सबै पुरस्कार तथा अभिनन्दन पत्र प्रतिष्ठानका अध्यक्ष इन्दु पन्तको सभापतित्वमा शुक्रबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वराजदूत तथा साहित्यकार जयराज आचार्यले प्रदान गरेका हुन् ।