
सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुलीको दूधौली नगरपालिकाका ३० वर्षीय धनबहादुर भन्ने दानबहादुर तामाङ, ३३ वर्षीय सन्तोष भन्ने प्रेमलाल घिसिङ र ३८ वर्षीय राजु तामाङ रहेका छन् ।
उनीहरूलाई धरान उपमहानगरपालिकाको बरगाछीस्थित एक होटलमा लुकीछिपी बसेको अवस्थामा शनिबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।
सूचना अधिकारी महतोका अनुसार उनीहरूले यही वैशाख २६ गते दिउँसो धनकुटा नगरपालिका- ७ मदन चोकमा शहीदभूमि गाउँपालिका- १ की ४० वर्षीया विष्णुकुमारी राईलाई बाटो छेकेर उनले लगाएको गहना लिएर फरार भएका थिए ।
प्रहरीले उनीहरूको साथबाट लकेटसहितको सिक्री १ थान, लकेटविनाको सिक्री १ थान, सिक्रीको लकेट मात्र १ थान, तिलहरी १ थान, कानको बेरुवा कुण्डल २ थान र बेरुवा औँठी १ थान बरामद गरेको छ ।
यस्तै, बुलेट मोटरसाइकल १ थान र एनएस मोटरसाइकल १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
