
पश्चिमी र स्थानीय वायुको प्रभावले मुलुकका अधिकांश भू-भागमा वर्षा भइरहेको छ। मौसमविद् उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिमबाट प्रवेश गरेको शक्तिशाली वर्षा गराउने प्रणालीले देशभरको मौसममा उल्लेख्य बदलाव ल्याएको हो ।
यसका कारण मुलुकको ७५ प्रतिशतभन्दा बढी भू-भागमा हल्कादेखि भारी वर्षा भएको छ।
काठमाडौं उपत्यकामा पनि सामान्य वर्षा भएको छ भने उपत्यकाका केही निश्चित क्षेत्रहरूमा भारी वर्षा महसुस गरिएको छ । हाल कोशी प्रदेश लगायत पूर्वी भू-भागको मध्यपहाडी क्षेत्रमा वर्षा जारी रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार दिउँसो र अपराह्न पुन: वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मौसम बढी सक्रिय रहने देखिएको छ।
मेघगर्जन र चट्याङसहितको मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना अझै रहेकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा पर्न सक्ने प्रभावप्रति सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
केही दिनसम्म यो मौसमी प्रणाली सक्रिय रहने देखिएकाले आवश्यक पूर्वतयारी अपनाउन समेत सुझाव दिइएको छ।