
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको मंगलबार सम्पन्न खेलमा घरेलु टोली नेपाल पराजित भएको छ । स्कटल्यान्डले रोमाञ्चक खेलमा नेपाललाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई रनले हराएको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ४३ रन बनाएको थियो ।
त्यसपछि वर्षाले खेल केही समय प्रभावित भएको थियो । खेल पुन: शुरू भएपछि नेपालले ३९ ओभरमा दुई सय २१ रन बनाउनु पर्ने गरी नयाँ लक्ष्य पाएको थियो । तर, नेपाली टोलीले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय १८ रनमात्र बनाउन सक्यो ।
दीपेन्द्रसिंह ऐरी र गुलसन झाबाहेक नेपालका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । दीपेन्द्रले ५५ रनको योगदान गरे । उनले ४९ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काए ।
२६ वर्षीय दीपेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो आठौं अर्धशतक हो । उनले यो ढाँचाको क्रिकेटमा दुईवटा शतक पनि बनाएका छन् ।
२० वर्षीय गुलसन झाले नेपाली समर्थकमा केही आशा जगाएका थिए । तर, उनको अर्धशतकले पनि नेपालललाई जितसम्म डोर्याउन सकेन् ।
सातौं नम्बरमा क्रिज समाल्न आएका गुलसनले आक्रामक शैलीको ब्याटिङ गर्दै केवल ३५ बलमा पाँच छक्का र दुई चौकाको मद्दतले अविजित ६१ रन बनाए । एकदिवसीय क्रिकेटमा उनले पाँचौं अर्धशतक बनाएका हुन् ।
कप्तान रोहित पौडेल ४६ बलमा दुई चौकाको मद्दतले ३२ रन बनाउँदै आउट भए । ओपनर आसिफ शेखले २१ र विनोद भण्डारीले १० रन जोडे ।
अर्जुन कुमालले खातासम्म खोल्न सकेनन् भने आरिफ शेख पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । करण केसी २६ बलमा एक छक्का र एक चौकाको मद्दतले १८ रन बनाउँदै पेभेलियन फर्किए ।
नन्दन यादव आठ रनमा अविजित रहे । स्कटल्यान्डका बलर ब्राड करीले तीन र मार्क वाटले दुई विकेट लिए ।
त्यसअघि, स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सीले ७५ रनको योगदान गरेका थिए । उनले केवल ६२ बलको सामना गरी दुई छक्का र १२ वटा चौका पनि हिर्काए ।
अर्का ओपनर फिनले म्याकक्रिएथले पनि ३५ रन बनाए । माइकल इङ्लिसले पनि टोलीको खातामा अविजित ३४ रन थपे ।
नेपाली टोलीका बलर सन्दीप लामिछानेले चार विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ४१ रन खर्चिए । करण केसीले पनि दुई विकेट हात पारे ।
नन्दन यादवले पनि दुई विकेट लिए । लिग–२ प्रतियोगिताको जारी शृंखलामा नेपाल र स्कटल्यान्डका अतिरिक्त अमेरिकाको पनि सहभागिता रहेको छ ।
यो सिजनको लिग–२ प्रतियोगितामा आठ टोली सहभागी छन् । जारी शृंखलामा भने नेपाल र स्कटल्यान्डका अतिरिक्त अमेरिकाको पनि सहभागिता रहेको छ ।
लिग–२ प्रतियोगितामा २४ खेलबाट ३६ अंक जोडेको अमेरिका पहिलो, २९ खेलबाट ३६ अंक बटुलेको स्कटल्यान्ड दोस्रो र २८ खेलबाट ३१ अंक हात पारेको ओमान तेस्रो स्थानमा छन् ।
यसैगरी, २४ खेलबाट २८ अंक हात पारेको नेदरल्यान्ड्स चौथो र २८ खेलबाट २२ अंक हात पारेको नामिबिया पाँचौं स्थानमा आसिन छन् ।
यसैगरी, २४ खेलबाट २१ अंक जोडेको क्यानडा छैटौं, २५ खेलबाट १८ अंक हात पारेको नेपाल सातौं र २४ खेलबाट १४ अंक बटुलेको यूएई आठौं स्थानमा छन् ।