अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई ज्यान मार्ने धम्की दिएको र आपराधिक लाभ लिन खोजेको अभियोगमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित तीन जना विरुद्ध अभियोग दायर भएको छ।
अधिकारीको निर्देशन र मिलेमतोमा प्रमुख आयुक्त राईलाई 'ईजीएन' नामक आतङ्ककारी सङ्गठनको नाम लिई राजीनामा नदिए ज्यान लिने धम्की दिएको काठमाडौँ जिल्ला प्रहरी परिसरको अनुसन्धानबाट खुलेको छ ।
यस प्रकरणमा अधिकारीका साथै काभ्रेपलाञ्चोकका ३४ वर्षीय प्रकाश पाठक र झापाका ५६ वर्षीय तारा प्रसाद खरेललाई प्रतिवादी बनाइएको काठमाडौँ प्रहरीले मंगलबार जनाएको छ ।
अनुसन्धानका क्रममा उनीहरूले ह्वाट्सएप नम्बर र भिडियो सन्देश मार्फत प्रमुख आयुक्तलाई राजीनामा दिन दबाब दिँदै आपराधिक लाभ (एक्सटर्सन) का लागि डर त्रास देखाएको खुलेको छ।
काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्नका लागि सरकरी वकिल कार्यालयमा पेस भएको अभियोगपत्रमा प्रतिवादीहरू विरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम ज्यान मार्ने उद्योगको आपराधिक षड्यन्त्र, आपराधिक लाभ लिन नहुने र हुण्डी सम्बन्धी कारोबार गरेको कसुरमा सजायको मागदाबी गरिएको छ।
यसैगरी, उनीहरूलाई विद्युतीय (इलेक्ट्रोनिक्स) कारोबार ऐन २०६३ र सङ्गठित अपराध निवारण ऐन २०७० अन्तर्गतका गम्भीर कसुरहरूमा समेत कारबाही गर्न प्रहरीले माग गरेको छ।
अनुसन्धानले यो समूहले सङ्गठित रूपमै आपराधिक योजना बुनेको देखाएको भन्दै एकीकृत कसुर बापत थप सजायको समेत मागदाबी गरिएको विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले यस प्रकरणमा अर्जुन बहादुर शाही, नविन बस्नेत, जगदम्बे गुरु भनिने सरया किन्नेरा, प्रमोद सेढाई, चाँदमला श्रेष्ठ र जेनु थापालगायतका अन्य व्यक्तिहरूको पनि संलग्नता हुनसक्ने भन्दै उनीहरूका हकमा थप प्रमाण खुलेपछि छुट्टै अनुसन्धान प्रतिवेदन पेश गर्ने गरी अनुसन्धान जारी राखेको छ।