२६ जेठ २०८३, मंगलबार
ट्राफिक नियम श्रृंखलाबद्ध उल्लंघन

बारम्बार नियम मिच्ने ३१ 'अटेरी चालक'को लाइसेन्स खोसिँदै [भिडियो]

बैशाख ३१, २०८३
काठमाडौं

काठमाडौं उपत्यकामा पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने सार्वजनिक सवारी चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाइएको छ।

मादक पदार्थ सेवन (मापसे), लागूपदार्थ सेवन (लापसे), लापरबाहीपूर्वक सवारी चलाउने, बढी भाडा असुल्ने, यात्रु लिन अस्वीकार गर्ने र नम्बर प्लेटबिना सवारी सञ्चालन गर्नेलगायत कसुरमा बारम्बार कारबाहीमा परेका ३१ चालकविरुद्ध ट्राफिक प्रहरीले कडा कदम चालेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मादक पदार्थ सेवन तथा पाँच पटकभन्दा बढी ट्राफिक कारबाहीमा परेका चालक ८ जना रहेका छन्। त्यस्तै, लागूपदार्थ सेवन तथा पाँच पटकभन्दा बढी कारबाही भोगेका चालक ६ जना छन्। अन्य विभिन्न कसुरमा पाँच पटकभन्दा बढी कारबाहीमा परेका चालकको संख्या १७ पुगेको छ।

ट्राफिक प्रहरीको अभिलेखअनुसार सुमित तामाङ लागूपदार्थ सेवनसहित विभिन्न ट्राफिक उल्लंघनमा १८ पटक कारबाहीमा परेका छन्। निषेधित स्थानमा सवारी रोक्ने, एकतर्फी सडकमा उल्टो दिशाबाट सवारी चलाउने, बिग्रिएको अवस्थाको सवारी चलाउने, बढी यात्रु राख्ने तथा नम्बर प्लेटबिना सवारी चलाउनेजस्ता कसुरमा उनी संलग्न रहेको उल्लेख छ। विशेषगरी ‘अवस्था ठीक नभएको सवारी चलाएको’ कसुरमा मात्रै उनी ६ पटक कारबाहीमा परेका छन्।

नवराज गिरी २२ पटक ट्राफिक कारबाहीमा परेका चालकका रूपमा देखिएका छन्। उनीमाथि लागूपदार्थ सेवन, निषेधित स्थानमा सवारी रोक्ने, यात्रु लिन अस्वीकार गर्ने, नम्बर प्लेटबिना सवारी चलाउने तथा बढी भाडा लिने आरोप रहेको प्रहरीले जनाएको छ। निषेधित स्थानमा सवारी रोकेको कसुरमै उनी ६ पटक कारबाहीमा परिसकेका छन्।

सुमन काफ्लेले ट्राफिक बत्ती उल्लंघन, रातिको समयमा बत्ती नबाली सवारी चलाउने, निषेधित समयमा सवारी चलाउने तथा लापरबाहीपूर्वक सवारी चलाउने कसुरमा १९ पटक कारबाही भोगेका छन्। रकम राज बाइवा २० पटक कारबाहीमा परेका छन् भने उनीमाथि गलत दिशाबाट सवारी चलाउने, बढी भाडा लिने तथा लापरबाहीपूर्वक सवारी चलाउने आरोप छ।

सुग्रिव थिङले ट्राफिक संकेत उल्लंघन, नम्बर प्लेट नराख्ने, यात्रु लिन अस्वीकार गर्ने तथा अनुमति पत्रबिना सार्वजनिक सवारी सञ्चालन गर्नेजस्ता कसुरमा १९ पटक कारबाही भोगेका छन्। दीपेन्द्र न्यौपाने, पुष्पकुमार श्रीमली, राजेन्द्र प्रसाद लोहाला र राजु श्रेष्ठमाथि पनि पटक–पटक ट्राफिक नियम उल्लंघन गरेको आरोप छ।

राजेन्द्रप्रसाद लोहालाले १० पटकसम्म नम्बर प्लेटबिना सवारी चलाएको पाइएको छ। उनीमाथि यात्रु लिन अस्वीकार गर्ने तथा बढी भाडा असुल्ने आरोपसमेत रहेको छ। त्यस्तै, राजु श्रेष्ठले ९ पटक नम्बर प्लेटबिना सवारी चलाएको तथा ५ पटक बढी भाडा लिएको कसुरमा कारबाही भोगेका छन्।

श्यामबहादुर लामाले लापरबाहीपूर्वक सवारी चलाएको कसुरमा ८ पटक तथा हेल्मेट वा पेटी (सिटबेल्ट) नलगाएको कसुरमा ७ पटक कारबाही भोगेका छन्। कर्णबहादुर मानन्धरले रातिको समयमा बत्ती नबाली सवारी चलाएको कसुरमा ७ पटक कारबाही भोगिसकेका छन्।

विशाल रुम्बा लामा, मानबहादुर आचार्य, गोकर्ण श्रेष्ठ, किरणलाल श्रेष्ठ, राजु कुमाल, रामबहादुर पाण्डे, प्रविन दनुवार, राजकुमार स्याङ्बो, भुवन केसी, अर्जुन रिमाल र मनोज पहरी पनि मादक पदार्थ सेवन तथा विभिन्न ट्राफिक उल्लंघनका कारण कारबाहीमा परेका चालकको सूचीमा छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले ट्राफिक नियमको पालना केवल जरिवानाबाट बच्न मात्र नभई जीवन रक्षाका लागि आवश्यक रहेको बताए। उनले बारम्बार एउटै गल्ती दोहोरिनु कानुन कार्यान्वयन प्रणालीमाथिको चुनौती भएको उल्लेख गर्दै ट्राफिक निगरानी र कारबाहीलाई थप कडा बनाइने जानकारी दिए।

प्रहरीले सार्वजनिक सवारीमा यात्रा गर्दा चालकले लापरबाहीपूर्वक सवारी चलाएको, बढी भाडा असुलेको वा लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल सम्बन्धित निकायमा जानकारी दिन यात्रुहरूलाई आग्रह गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्