
नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले लिपुलेक समस्या समाधानबारे भारत वार्ताका लागि तयार भए पनि नेपालले किन निकासको पहल नगरेको भनी प्रश्न गरेका छन् ।
सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि बिहीबार प्रतिनिधिसभामा भएको छलफलका क्रममा शाहले कूटनीतिक पहलमार्फत निकास खोज्न सरकारसँग आग्रह गरेका हुन् ।
‘लिपुलेक र लिम्पियाधुराको विषयमा वार्ता गर्न भारत सरकार तयार भएको भारतीय विदेश सचिवले बताएका छन्, तर हाम्रो सरकारले किन वार्ता टोली गठन गरी निकासतर्फ पहल गरेको छैन ?’, शाहले संसद्मा प्रश्न गरे, ‘राष्ट्रियता सामाजिक सञ्जालमा मात्र नभइ अभ्यासमा हुनुपर्छ । सीमामा बस्ने नागरिकको समस्यालाई आफ्नो समस्या ठानेर प्राथमिकता राख्नुपर्छ ।’
कपिलवस्तुबाट निर्वाचित सांसद शाहले कूटनीतिक विषयमा सरकारले परिपक्वता देखाउन नसकेको टिप्पणी गरे ।
‘नेपाल-भारत सीमा विवाद कूटनीतिक विषयमा के हुँदैछ ? सरकारले कूटनीतिक विषयमा परिपक्वता देखाएको छैन । जसको कारण सीमामा बस्नेले सास्ती खेप्नुपर्छ’, शाहले भने, ‘ठोस नतिजा निकाल्न उच्चस्तरीय सक्रियता आवश्यक छ ।’