०४ साउन २०८३, सोमबार

भारतसहित तीन एसियाली देशका इन्जिनियरलाई जापानले अन्तरिक्ष प्रविधि तालिम दिने

जेठ १, २०८३
काठमाडौं
भारतसहित तीन एसियाली देशका इन्जिनियरलाई जापानले अन्तरिक्ष प्रविधि तालिम दिने

जापानले आफ्नो बढ्दो अन्तरिक्ष उद्योगलाई एसियाभर विस्तार गर्ने उद्देश्यसहित भारत, फिलिपिन्स र इन्डोनेसियाका इन्जिनियरलाई अन्तरिक्ष प्रविधिसम्बन्धी तालिम दिने भएको छ।

जापानी आर्थिक दैनिक निक्केई एशियाका अनुसार जापान अन्तर्राष्ट्रिय सहयोग निकाय (जाइका)को सहकार्यमा यो कार्यक्रम अघि बढाउन लागिएको हो। 

कार्यक्रममा जापानी स्पेस स्टार्टअप कम्पनीहरूले सहभागी इन्जिनियरलाई स्याटेलाइट निर्माण, अन्तरिक्ष डेटा विश्लेषण तथा अन्य आधुनिक स्पेस प्रविधिबारे प्रशिक्षण दिनेछन्।

समाचारमा जापानले यसलाई केवल प्राविधिक तालिमका रूपमा नभई एसियामा आफ्नो ‘स्पेस डिप्लोमेसी’ विस्तार गर्ने रणनीतिक कदमका रूपमा लिएको उल्लेख गरिएको छ । पछिल्ला वर्षहरूमा चीन र अमेरिकाबीच अन्तरिक्ष प्रतिस्पर्धा तीव्र भइरहेका बेला जापानले पनि क्षेत्रीय साझेदारी बढाउने प्रयास थालेको हो ।

विशेषगरी भारतलाई जापानले महत्वपूर्ण साझेदारका रूपमा हेरिरहेको जनाइएको छ । भारतमा निजी अन्तरिक्ष क्षेत्र तीव्र रूपमा विस्तार भइरहेको र धेरै नयाँ स्पेस स्टार्टअप उदाइरहेका कारण जापानी कम्पनीहरूले भारतीय कम्पनीसँग सहकार्य बढाउन थालेका छन् ।

जापानी कम्पनी ‘एस्ट्रोस्केल’ले भारतका ‘डिगान्टारा’ र ‘बेलाट्रिक्स एयरोस्पेस’जस्ता कम्पनीसँग अन्तरिक्ष फोहोर (स्पेस डेब्रिस) व्यवस्थापनसम्बन्धी सहकार्य गरिरहेको समाचारमा उल्लेख छ ।

हाल जापानमा साना स्याटेलाइट, रकेट सेवा, अन्तरिक्ष डेटा तथा स्पेस डेब्रिस हटाउने प्रविधिमा काम गर्ने निजी कम्पनीहरूको संख्या तीव्र रूपमा बढिरहेको छ। जापानले भविष्यमा संयुक्त स्याटेलाइट परियोजना र अन्तरिक्ष सेवामा समेत एसियाली देशसँग सहकार्य विस्तार गर्ने लक्ष्य राखेको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्