३१ असार २०८३, बुधबार

तेह्रथुममा बाँदर धपाउने अभियान- गुलेली र मट्याङ्ग्रा बोकेर जंगल पुगे गाउँले र कर्मचारी

जेठ १, २०८३
विराटनगर
तेह्रथुममा बाँदर धपाउने अभियान- गुलेली र मट्याङ्ग्रा बोकेर जंगल पुगे गाउँले र कर्मचारी

तेह्रथुमको लालीगुराँस नगरपालिकाको रत्न माध्यमिक विद्यालयका शिक्षक बलि तेयुङ लिम्बुले बिहीबार सामाजिक सञ्जालमा शिक्षकहरूको एक तस्वीर अपलोड गरे । जसको क्याप्सन लेखिएको छ- भोलि बादर धपाउन जाने टिम !

गाउँमा बाँदरले कतिसम्म सताएको छ भने नगरपालिकाले बाँदर धपाउनका लागि सार्वजनिक बिदा नै दिनुपरेको छ । नगरपालिकाले आज र भोलि बाँदरलाई सीमा कटाउने अभियान सञ्चालन गरेको छ । 

९ वटा वडाबाट नै स्थानीस्य भेला भएर बाँदरलाई लेखट्दै पिङवा र लम्बु खोलाको दोभानमा पुर्‍याइने मेयर अर्जुन माबोहाङले जानकारी दिए । 

नगरपालिकाले आज शुक्रबार अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरी सामूहिक रूपमा बाँदर धपाउने अभियान घोषणा गरेको छ । बाँदर लखेट्नकै लागि सार्वजनिक बिदा दिने यो निर्णय सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रिया आएका छन् ।

कतिपयले यसलाई रमाइलोका रूपमा लिए पनि यसको पछाडि पहाडी भेगका किसानको डर, थकान र बाँच्नका लागि गरिरहेको कठोर सघंर्ष लुकेको मेयर अर्जुन माबोहाङ बताउँछन् ।

मेयर माबोहाङका अनुसार यो रहर नभई गाउँ जोगाउने अन्तिम प्रयास हो । ‘अलैँची अहिले प्रतिमन एक लाख रूपैयाँमा बिक्री हुन्छ, तर बाँदरले बोटै मासिने गरी बगान सखाप पारिदिएपछि मान्छे के आशाले गाउँमा बस्छ ?’ उनी प्रश्न गर्छन् ।  

गाउँमा बिजुली, पानी र बाटो पुगे पनि बाँच्ने मुख्य आधार कृषि नै सखाप भएपछि बसाइँसराइ तीव्र बनेको छ । आफ्नो दोस्रो कार्यकालको अन्तिम वर्षमा काम गरिरहेका मेयरले धेरै घरमा ताल्चा लागेको देख्दा र सोधखोज गर्दा बाँदरकै सास्तीले मान्छेहरू थातथलो छाडेर शहर पसेको भेट्टाएका छन् ।

नगरपालिकाको यो निर्णयको अर्को मुख्य उद्देश्य माथिल्लो तहको सरकारलाई दबाब दिनु पनि हो । प्रदेश र संघीय सरकारले बाँदर आतकंलाई पटक्कै चासो नदिएपछि उनीहरूको ध्यानाकर्षण गराउन बिदा नै दिएर अभियान चलाउनुपरेको नगरपालिकाको भनाइ छ । 

यो विषयमा प्रधानमन्त्री  वालेन्द्र शाहको सचिवालय र प्रधानमन्त्री कार्यालयले समेत चासो राखेको मेयर माबोहाङले जानकारी दिएका छन् ।

स्थानीय किसानहरूको पीडा अझ मर्मस्पर्शी छ । पहाडका धेरै गाउँमा अहिले बिहानको पहिलो काम चिया पकाउनु नभई बाँदर धपाउनु बनेको छ । अलैँची, फलफूल र तरकारी खेतीमा समेत बाँदरले उत्तिकै नोक्सानी पुर्‍याइरहेको छ। समस्या समाधानका लागि नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमै ‘बाँदरबाट परेको क्षति न्यूनीकरण’ शीर्षकमा रकम विनियोजन गरेको छ र विभिन्न वडाका संवेदनशील क्षेत्रमा ‘बाँदर हेरालु’ समेत खटाइएको छ । तर हेरालुले मात्रै समाधान नभएपछि अहिले किसान, जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक सबैलाई मैदानमा उतारिएको हो ।

मेयर माबोहाङ बाँदरलाई मार्ने नभई जङ्गलमै फर्काउने र उतै भुलाउने सोंचमा छन् । ‘उनीहरू पनि बाँचून् र मान्छेको बस्ती पनि जोगियोस्,’ उनी भन्छन् ।  

यसका लागि लेक र औल क्षेत्रमा फलफूलका बिरुवा रोप्ने तयारी गरिएको छ । नास्पति लगायतका फलफूल र बाँदरलाई मन पर्ने पाउलो हुने बोट विरुवा रोपिने उनले बताए । नगरपालिकाले मासिक २५ हजार दिने गरी  ४ जना बाँदर हेरालु समेत राखेको छ ।

सामाजिक सञ्जालमा यो विषय ‘भाइरल’ भइरहँदा गाउँका किसानहरूलाई भने आफ्नो बाली जोगिन्छ कि जोगिँदैन भन्ने चिन्ताले बढी सताएको छ । सामूहिक रूपमा बाँदर लखेटेर सीमा कटाउने यो अभियानलाई अहिले सबैले निकै चासोका साथ हेरिरहेका छन् । 

मेयर माबोहाङले आउँदो नगरसभामा पहिलो एजेन्डा नै बाँदर नियन्त्रणको हुने र त्यही अनुसारको बजेट विनियोजन गरिने जानकारी दिए । अब बाटो, पानीको एजेन्डा भन्दा बाँदर नियन्त्रणको एजेन्डा पहिलो हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्