
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी चितवनले आज मदन-आश्रित दुर्घटनास्थल दासढुङ्गा पुगी तत्कालीन महासचिव जननेता मदन भण्डारी र सङ्गठन विभाग प्रमुख कुशल सङ्गठक जीवराज आश्रितप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
जिल्ला पार्टी कार्यालय भरतपुरबाट मोटरसाइकल र्यालीसहित दुर्घटनास्थल दासढुङ्गा पुगेका एमालेका नेता तथा कार्यकर्ताले नेताद्वयको शालिकमा माल्याणर्पण गरी दिवङ्गत नेताद्वयले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि एमालेका केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञवालीले मदन-आश्रितले छोडेर गएको विचारले अप्ठ्यारोमा पनि जुटिरहने सङ्कल्प प्राप्त भएको धारणा व्यक्त गरे । बागमती प्रदेशसभा संसदीय दलका नेता एवं पार्टीका केन्द्रीय सदस्य जेएन थपलियाले नेताद्वयको तेजस्वी सोचलाई अझ उँचोका साथ अगाडि बढाउन प्रण गर्नुपर्ने बताए । एमाले चितवनले मदन-आश्रित स्मृति दिवस मनाउन पाँच दिने कार्यक्रम तय गरेको थियो ।
नेकपा (एमाले)ले सो दुर्घटनालाई नेताद्वयको रहस्यमय हत्या भन्दै आएको छ ।