
स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई क्लबबाट बिदाइ गरिएको छ । उनले आइतबार राति बार्सिलोनाका लागि घरेलु मैदानमा अन्तिम खेल खेले ।
उक्त खेलपछि क्लब र टोलीका साथीहरूले उनलाई भावुक बिदाइ गरेका थिए । रियल बेटिसविरुद्धको ३–१ गोलको जितसँगै लेवान्डोस्कीले क्याम्प नोउलाई बिदाइ लिएका हुन् ।
खेलको ८५औँ मिनेटमा मैदानबाट बाहिरिँदा लेवान्डोस्कीको आँखामा आँसु थियो । उनी मैदानबाट बाहिरिएपछि पनि पटक–पटक डगआउटबाट निस्किएर समर्थकलाई हात हल्लाउँदै अभिवादन गरिरहेका थिए ।
समर्थकहरूले पनि उनलाई तालीको गडगडाहटसहित भव्य बिदाइ दिएका थिए । खेलमा राफिन्हाले दुई र जोआओ क्यान्सेलोले एक गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए ।
योसँगै बार्सिलोनाले यस सिजन आफ्नो घरेलु मैदानमा खेलेका सबै १९ खेलमा जित हासिल गर्दै ‘परफेक्ट होम रेकर्ड’ बनाएको छ ।
३८ खेलको ला लिगा इतिहासमा घरेलु मैदानमा सबै खेल जित्ने बार्सिलोना पहिलो टोली बनेको छ । यसअघि, सन् १९८५–८६ सिजनमा रियल म्याड्रिडले ३४ खेलको सिजनमा यस्तो कीर्तिमान बनाएको थियो ।
खेलपछि समर्थकहरूलाई सम्बोधन गर्दै लेवान्डोस्कीले भने, ‘मेरा लागि यो निकै उत्साहजनक र कठिन दिन हो । मलाई थाहा छ, बार्सिलोना महान क्लब हो । समर्थकको मायाले मेरो बार्सिलोना बसाइलाई थप अविश्वसनीय बनाइदियो । बार्सिलोना सधैं मेरो सम्झनामा रहनेछ । एकपटकको बार्सा, सधैंको बार्सा ।’
सन् २०२२ मा बायर्न म्युनिखबाट बार्सिलोना आएका लेवान्डोस्कीले क्लबका लागि एक सय ९२ खेलमा एक सय ९९ गोल गरेका छन् । उनले प्रति एक सय १८ मिनेटमा एक गोलको औसत कायम गरेका छन् । उनको कप्तानीमा टोलीले ला लिगा उपाधिसँगै कोपा डेल रे र तीनपटक सुपरकोपा डे एस्पानाको उपाधि जितेको छ ।
पछिल्लो खेलमा पनि लेवान्डोस्कीले टोलीको कप्तानी सम्हालेका थिए । टोलीका अन्य प्रभावशाली खेलाडी राफिन्हा, रोनाल्ड र पेड्रीले नै उनलाई यो सम्मान दिने निर्णय गरेका थिए ।
राफिन्हाले भने, ‘हामीले बिहानै यो योजना बनाएका थियौँ । उनले क्लबका लागि धेरै योगदान दिएका छन् । उनलाई यति सम्मान दिनु हाम्रो कर्तव्य थियो ।’
लेवान्डोस्कीले अर्को शनिबार भ्यालेन्सियाको मैदानमा हुने सिजनको अन्तिम खेल खेलेपछि आधिकारिक रूपमा बार्सिलोनाको जर्सीसँगको आफ्नो यात्रा टुंग्याउनेछन् ।