
फिफा पुरुष विश्वकपको पाँचौँ संस्करण सन् १९५४ को जुन १६ देखि जुलाई ४ तारिखसम्म स्विट्जरल्यान्डमा आयोजना भएको थियो । युरोपेली राष्ट्रमा विश्वकप आयोजना भएको यो तेस्रोपटक थियो ।
पाँचौँ संस्करणमा सहभागी टोलीको संख्या बढाएर १६ पुर्याइएको थियो । एसियाको प्रतिनिधित्व दक्षिण कोरियाले गरेको थियो । यसरी दक्षिण कोरिया एसियाबाट विश्वकप खेल्ने दोस्रो राष्ट्र पनि बन्न पुगेको थियो । दक्षिण कोरिया स्वतन्त्र राष्ट्रका रूपमा विश्वकपमा सहभागी हुने पहिलो एसियाली देश पनि बन्यो ।
यसपटक पनि अफ्रिकाबाट भने कुनै पनि राष्ट्र सहभागी भएनन् । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको प्रतिनिधित्व मेक्सिकोले गरेको थियो । दक्षिण अमेरिकाबाट ब्राजिल र साविक विजेता उरुग्वे सहभागी थिए । युरोपबाट सबैभन्दा बढी १२ राष्ट्रले भाग लिएका थिए ।

युरोपबाट अस्ट्रिया, बेल्जियम, इङ्ल्यान्ड, चेकोस्लोभाकिया, फ्रान्स, हंगेरी, इटाली, स्कटल्यान्ड, स्विट्जरल्यान्ड, टर्की, पश्चिम जर्मनी र युगोस्लाभिया सहभागी थिए । दक्षिण कोरियासँगै स्कटल्यान्ड, स्विट्जरल्यान्ड र टर्कीको भने यो पहिलो विश्वकप थियो ।
विश्वकपको इतिहासमा स्विट्जरल्यान्ड संस्करण एक यस्तो घटना हो, जसले फूटबललाई केवल एक खेलका रूपमा होइन, सामाजिक र राजनीतिक परिवर्तनको एउटा आयामका रूपमा पनि स्थापित गरिदियो ।
‘बर्नको चमत्कार’का रूपमा चर्चित यो विश्वकपले फूटबल प्रेमीलाई यस्तो कथा दियो, जुन दशकौँ बितिसक्दा पनि उत्तिकै जीवन्त छ ।
दोस्रो विश्वयुद्धको छायाँबाट बाहिर निस्कँदै गरेको युरोपमा आयोजित यो प्रतियोगिता गोलको वर्षा, टेलिभिजनमा पहिलो पटक प्रत्यक्ष प्रशारण र ‘बर्नको चमत्कार’जस्ता कारणले पनि फूटबल पारखीमाझ सधैं स्मरणीय रहने पक्का छ ।
००

स्विट्जरल्यान्ड नै किन ?
युद्धबाट कम प्रभावित र तटस्थ राष्ट्र भएका कारण फिफाले स्विट्जरल्यान्डलाई पाँचौं विश्वकपको आयोजकका रूपमा चयन गरेको थियो ।
ब्राजिलको विशाल माराकाना रंगशालाको तातो माहोलबाट टाढा आल्प्स पर्वतको काखमा बसेका स–साना रंगशालामा यो विश्वकपका खेलहरू खेलाइएको थियो ।
००
विवादित शुरूआत
प्रतियोगिताको ‘ड्र’ छनोट प्रक्रिया नसकिँदै गरिएको थियो । छनोट प्रतियोगिता जारी रहँदा स्पेनलाई सिडेड टोलीको रूपमा राखिसकिएको थियो । तर, प्ले–अफ खेलमा टर्कीसँग पराजित भएपछि स्पेनले विश्वकप खेल्ने अवसर नै पाएन ।
यो विषयलाई लिएर विश्वकप शुरू हुनुअघि नै फिफाको व्यापक आलोचना भएको थियो । स्पेन र टर्कीबीचको प्ले–अफ खेलमा हार–जीतको निर्णय दुबै टोलीका कप्तानबीच ‘टस’ गराएर निकालिएको थियो । त्यसअघि यस्तो घटना कहिल्यै भएको थिएन । त्यसैले अहिले पनि त्यसलाई अनौठो र विवादित घटना मानिन्छ ।

००
प्रतियोगिताको अनौठो ढाँचा
सन् १९५४ को विश्वकपको संरचना अन्य संस्करणको तुलनामा निकै फरक र आलोचनात्मक पनि थियो । १६ टोलीलाई चार समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहमा दुई ‘सिडेड’ र दुई ‘अनसिडेड’ टोली मात्र थिए ।
यसको अर्थ, प्रत्येक समूहमा दुई खेलमात्र हुन्थ्यो । यदि अंक बराबरी भएमा ‘प्ले–अफ’ खेल्नुपर्ने व्यवस्था गरिएको थियो । समूहगत चरणमै केही टोलीले फेरि खेल्नुपर्ने र केहीले आपसमा खेल्नै नपाउने अवस्थाले गर्दा यो ढाँचाको निकै आलोचना भएको थियो ।
फिफाका तत्कालीन अध्यक्षले भविष्यमा यस्तो ढाँचा नदोहोर्याउने प्रतिबद्धता जनाउनुपरेको थियो । त्यो विश्वकपमा अस्ट्रियाले स्विट्जरल्यान्डलाई ७–५ गोलले हराएको खेल विश्वकपको इतिहासकै सर्वाधिक गोल भएको खेलका रूपमा अहिलेसम्म पनि कायमै छ ।
००

‘गोल्डेन टीम’ हंगेरी र अभागी पुस्कास
सन् १९५४ को विश्वकप आयोजना हुँदा हंगेरी विश्व फूटबलको पर्याय बनेको थियो । सन् १९५२ को हेलसिन्की ओलम्पिकको फूटबलमा स्वर्ण पदक विजेता हंगेरी चार वर्षदेखि अपराजिता पनि रहँदै आएको थियो । यो अवधिमा हंगेरी ३२ खेलसम्म अपराजिता थियो ।
फेरेन्क पुस्कासको कौशलतपूर्ण कप्तानी र सान्यान्डर कक्सिसको ‘गोल्डेन हेड’ले सजिएको हंगेरीको टोली उपाधिको निर्विकल्प दाबेदार थियो । तर, जर्मनीविरुद्धको समूहगत चरणको खेलमा जर्मन डिफेन्डर वर्नर लिब्रिचको ‘क्रूर ट्याकल’ ले पुस्कास घाइते भए ।

पुस्कास घाइते भए पनि हंगेरीले क्वार्टरफाइनलमा ब्राजिललाई ४–२ गोलले हरायो । त्यो खेल अहिले पनि फूटबल इतिहासमा ‘ब्याटल अफ बर्न’ का नामले कुख्यात छ । मैदानभित्र तीन खेलाडीले रातो कार्ड खाएको त्यो खेलपछि दुवै टोलीका खेलाडीहरू ड्रेसिङ रुममा समेत झडपमा ओर्लिएका थिए ।
००
फाइनलको अविश्वसनीय कथा
फाइनलमा हंगेरीको सामना पश्चिम जर्मनीसँग भयो । आठ मिनेटभित्रै २–० गोलको अग्रता लिएको हंगेरी जीतको अत्यन्तै नजिक थियो । तर, भारी वर्षा र हिलाम्मे मैदानमा जर्मनीले आफ्नो प्रदर्शनमा नाटकीय सुधार ल्यायो ।
अन्तत: हेल्मट राहनको निर्णायक गोलसँगै ३–२ को ऐतिहासिक जीत निकाल्दै जर्मनी पहिलोपटक विश्व च्याम्पियन बन्न सफल भयो । त्यतिबेला दोस्रो विश्वयुद्धपछि भर्खरै फिफामा पुन: प्रवेश पाएको पश्चिम जर्मनीको टोलीलाई धेरैले सामान्य रूपमा लिएका थिए ।
युद्धले थलिएको जर्मनीका लागि यो जीत कुनै चमत्कारभन्दा कम थिएन, जसलाई आज पनि ‘द मिराकल अफ बर्न’ भनिन्छ ।
अर्कोतिर, त्यो हार हंगेरीका लागि यति पीडादायी थियो कि, त्यसको दुई वर्षपछि देशमा भएको राजनीतिक क्रान्तिसँगै धेरै स्टार खेलाडीले आफ्नो देश नै छाड्नु पर्यो । हंगेरीको फूटबल त्यसपछि कहिल्यै पुरानो लयमा फर्कन सकेन ।
समग्रमा सन् १९५४ को विश्वकपले प्रमाणित गर्यो कि, फूटबलमा जहिले पनि उत्कृष्ट टोलीमात्र विजेता बन्दैनन् । कहिलेकाहीँ ‘चमत्कार’ले इतिहासको लय नै बदल्न सक्छ ।
००

‘ब्याटल अफ बर्न’देखि ‘डोपिङ’सम्म
यो विश्वकप जति चर्चित रह्यो, उति नै विवादित पनि बन्यो ।
एकातिर, ‘ब्याटल अफ बर्न’ घटनाले यो विश्वकपलाई कलंकित बनाएको थियो भने अर्कोतिर, फाइनल खेललाई लिएर पनि निकै ठूलो विवाद भएको थियो ।
फाइनल खेलपछि हंगेरीका कप्तान पुस्कासले जर्मन खेलाडीहरूले ‘डोपिङ’ (प्रतिबन्धित औषधि सेवन) गरेको आरोप लगाएका थिए । त्यसको ५० वर्षपछि सार्वजनिक भएको प्रमाण र बर्लिन हम्बोल्ट विश्वविद्यालयको अध्ययनले पनि यसलाई पुष्टि गरेको थियो ।
विश्वविद्यालयको अध्ययनले फाइनल खेलअघि जर्मन खेलाडीहरूले ‘मेथाम्फेटामाइन’ (प्रतिबन्धित पदार्थ) को प्रयोग गरेको संकेत गरेको छ । यो तथ्यले जर्मनीको दोस्रो हाफको उत्कृष्ट प्रदर्शनलाई विवादास्पद बनाइदिएको छ ।
यसैगरी, फाइनल खेलमा हंगेरीका पुस्कासको ८७औँ मिनेटमा गरेको गोललाई रेफ्रीले अफसाइड भन्दै रद्द गरिदिएका थिए । तर, त्यसको केही वर्षपछि सार्वजनिक भएका केही फुटेजहरूले उक्त निर्णय विवादास्पद रहेको संकेत गरेको थियो ।
००

२६ खेलमा १४० गोल
पाँचौँ विश्वकपमा कुल २६ खेल खेलिएको थियो । त्यसमा विभिन्न टोलीका ६३ खेलाडीले कुल एक सय ४० गोल गरेका थिए । प्रतियोगितामा प्रतिखेल औसतमा ५.३८ गोल भयो, जुन विश्वकपको इतिहासकै सर्वाधिक उच्च औसत हो ।
हंगेरीका प्रभावशाली खेलाडी सान्यान्डर कक्सिस सर्वाधिक गोलकर्ता बनेका थिए । प्रतियोगितामा उनले कुल ११ गोल गरेका थिए ।
विभिन्न टोलीका तीन खेलाडीले ६–६ गोल गरे । सात खेलाडीले चार–चार गोल गरेका थिए । यसरी त्यतिबेला गोलको हिसाबले यो विश्वकप कीर्तिमानी बनेको थियो ।
००

पाँचौँ विश्वकपसँग जोडिएका केही रोचक कथा :
० एमेच्योर खेलाडीको जादु : व्यावसायिक लिगहरू नभएको अवस्थामा पश्चिम जर्मनीले पूर्ण रूपमा ‘एमेच्योर’ खेलाडीहरूको भरमा विश्वकप जितेको थियो, जुन आधुनिक फूटबलमा कल्पनाभन्दा बाहिरको कुरा हो ।
० ठूलो जीतको कीर्तिमान : हंगेरीले दक्षिण कोरियालाई ९–० गोलले हराएको थियो । त्यो हालसम्म पनि विश्वकपको इतिहासमा सबैभन्दा फराकिलो अन्तरको जीतमध्ये एक हो ।
० सर्वाधिक गोलको खेल : अस्ट्रियाले स्विट्जरल्यान्डलाई ७–५ गोलले हराएको थियो । त्यो खेलमा कुल १२ गोल भएको थियो । विश्वकपको इतिहासमा एउटै खेलमा भएको त्यो हालसम्मकै सबैभन्दा बढी गोल हो ।
० पहिलोपटक टेलिभिजनमा प्रशारण : पहिलोपटक विश्वभरका दर्शकले टेलिभिजनमार्फत विश्वकपका केही झलकहरू हेर्न पाएका थिए । त्यसअघि विश्वकपका खेलको प्रशारण टेलिभिजनमा गरिएको थिएन ।

० दक्षिण कोरियाको पीडा : पहिलोपटक विश्वकपमा सहभागी भएको दक्षिण कोरियाका लागि त्यो संस्करण दु:स्वप्न बन्यो । दक्षिण कोरियाले कुनै गोल गर्न सकेन । तर, १६ गोल खाएर प्रतियोगिताबाट बिदा भयो ।
० तेस्रोपटक अर्जेन्टिनाको अस्वीकार : अर्जेन्टिनाले लगातार तेस्रोपटक विश्वकपमा सहभागिता जनाउन अस्वीकार गरेको थियो ।
० स्कटल्यान्डको अचम्मको बहाना : समूहगत चरणमा उरुग्वेसँग ७–० गोलले पराजीत भएपछि स्कटल्यान्डका खेलाडीहरूले ‘उरुग्वेको राष्ट्रिय गान धेरै लामो भएका कारण आफूहरू थाकेको’ अनौठो तर्क दिएका थिए ।
० पारिवारिक कीर्तिमान : जर्मनीका फ्रिट्ज र ओटमार वाल्टर विश्वकप जित्ने पहिलो दाजु–भाइ बने । उनीहरूले सेमिफाइनलमा एकै खेलमा गोल गर्ने पहिलो दाजु–भाइको कीर्तिमान पनि बनाए ।
० ब्याटल अफ बर्नका रेफ्री : उक्त हिंसात्मक खेल खेलाउने रेफ्री आर्थर एलिस पछि चर्चित बीबीसी टेलिभिजन शो ‘इट्स अ नकआउट’का निर्णायक पनि बनेका थिए ।
थप तस्वीरहरू:





पढ्नुहोस् यो पनि :
विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग
पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म
दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम
द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो