०१ साउन २०८३, शुक्रबार

अमेरिकाद्वारा क्युबाका पूर्व नेता राहुल क्यास्ट्रोविरुद्ध हत्याको अभियोग दर्ता

जेठ ७, २०८३
काठमाडौं
अमेरिकाद्वारा क्युबाका पूर्व नेता राहुल क्यास्ट्रोविरुद्ध हत्याको अभियोग दर्ता

संयुक्त राज्य अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति एवं क्रान्तिकारी नेता राहुल क्यास्ट्रोविरुद्ध सन् १९९६ मा दुईवटा अमेरिकी विमान खसालेको र चार जनाको हत्या गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ। 

बुधबार सार्वजनिक गरिएको यस अभियोगमा ९४ वर्षीय क्यास्ट्रो र अन्य पाँच जनामाथि अमेरिकी नागरिकहरूको हत्या गर्ने षड्यन्त्र र विमान नष्ट गरेको आरोप लगाइएको छ।

मियामीस्थित फ्रिडम टावरमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले यस ऐतिहासिक कानुनी कदमको घोषणा गरेका हुन्। उनले क्यास्ट्रोविरुद्ध बदला नभई न्यायका लागि मुद्दा चलाइएको स्पष्ट पार्दै भने, 'संयुक्त राज्य अमेरिका र राष्ट्रपति ट्रम्पले आफ्ना नागरिकहरूलाई कहिल्यै बिर्सने छैनन्।'

सन् १९९६ मा क्युबा र फ्लोरिडाको बीचमा ब्रदर्स टु द रेस्क्यु नामक समूहका दुईवटा विमान क्युबाली सेनाले खसालेको थियो। उक्त घटनामा आर्मान्डो अलेजान्द्रे जुनियर, कार्लोस अल्बर्टो कोस्टा, मारियो म्यानुएल डे ला पेना र पाब्लो मोरालेसको मृत्यु भएको थियो।

सो समयमा राहुल क्यास्ट्रो क्युबाको सशस्त्र बलका प्रमुख थिए। हाल दर्ता गरिएको हत्याको अभियोग प्रमाणित भएमा उनलाई मृत्युदण्ड वा जन्मकैदसम्मको सजाय हुन सक्ने अमेरिकी न्याय विभागले जनाएको छ।

यस कदमले अमेरिका र क्युबाबीचको सम्बन्धमा थप तनाव पैदा गरेको छ। क्युबाका वर्तमान राष्ट्रपति मिगुएल डियाज-कानेलले यी आरोपहरूलाई राजनीतिक चालबाजीको संज्ञा दिँदै यसको कुनै कानुनी आधार नभएको दाबी गरेका छन्।

उनले क्युबाले आफ्नो जलक्षेत्रमा वैध आत्मरक्षा गरेको तर्क गर्दै अमेरिकाले सैन्य आक्रमणका लागि बहाना खोजिरहेको आरोप लगाए।
 

salt training

कमेन्ट गर्नुहोस्