२१ जेठ २०८३, बिहीबार
भिडियो अन्तर्वार्ता

एसियाडमा पदक आश गरिएकी तेक्वान्दो खेलाडी सन्तोषी: बच्चैदेखि निदाउन नदिने त्यो सपना !

जेठ ८, २०८३
काठमाडौं

वृहत् राष्ट्रिय खेलकुदको सातौँ संस्करण २०७३ सालमा विराटनगरमा आयोजना भएको थियो । पूर्वाञ्चलका विभिन्न जिल्लामा फरक–फरक खेल खेलाइएको थियो ।

जताततै खेलकुदको माहोल थियो । स्थानीय विद्यालयहरूले पनि आफ्ना विद्यार्थीलाई विभिन्न खेल देखाउन प्रतियोगितास्थल लैजान्थे ।

यस्तैमा, एक दिन एउटी ‘सानी नानी’ आफ्नो विद्यालयबाट साथीहरूसँगै शिक्षकको पछि लागेर खेल हेर्न पुगिन् । संयोगले त्यो खेल तेक्वान्दो परेछ र प्रतिस्पर्धा गरिरहेकी खेलाडी त्रिभुवन आर्मी क्लबकी ।

त्यो खेलले उनको मनमा यस्तो अमिट छाप छाडेछ कि, भविष्यमा आर्मी बन्ने र तेक्वान्दो खेल्ने उनको एक मात्र लक्ष्य बन्न पुग्यो ।

त्यसपछि उनी स्थानीय डोजोमा तेक्वान्दो सिक्न भर्ना भइन्, त्यो पनि परिवारको चाहनाविपरीत । अध्ययनमा अब्बल भएकीले आमा–बुवा भने उनलाई साइन्स पढाउन चाहन्थे ।

तर, नियतिले अर्के खेल रचेको थियो । आर्मी बन्ने र तेक्वान्दो खेल्ने ‘पागलपन’सम्मको हुटहुटीले ती ‘सानी नानी’लाई दिउँसै सपना देख्ने बनायो ।

भनिन्छ नि, ‘सपना त्यो होइन जुन निदाउँदा देखिन्छ । बरु सपना त्यो हो, जसले मान्छेलाई निदाउन दिँदैन,’ उनका लागि पनि स्थिति ठिक यस्तै थियो ।

‘हो, त्यसपछि मेरा सबै सपनाहरू यही दुई लक्ष्यका वरिपरि घुम्न थाले । घर–परिवारको चाहनाविपरीत म लक्ष्यमा एकहोरिएँ,’ लोकान्तरसँगको कुराकानीमा राष्ट्रिय तेक्वान्दो खेलाडी सन्तोषी राईले भन्छिन् ।

समय बलवान हुन्छ । समयको बहावसँगै सन्तोषीले यतिबेला आफ्नो दुवै लक्ष्य प्राप्त गरिसकेकी छन् । यतिबेला सन्तोषीका रूपमा देशले एउटा कुशल र प्रतिभाशाली तेक्वान्दो खेलाडी पाएको छ ।

यतिबेला नेपाली खेलकुद जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदको तयारीमा व्यस्त छ । अनि, सन्तोषी पनि राष्ट्रको जर्सी लगाएर एसियाली खेलकुदमा पदक जित्ने लक्ष्यमा एकहोरिएकी छिन् ।

उनीबाट देशले पदकको आशा पनि गरेको छ । स्वभाविक पनि हो, जब–जब ठूला प्रतियोगितामा सहभागिताको चर्चा चल्छ, सबैभन्दा पहिले अगाडि आउने नाम पनि तेक्वान्दोकै हो ।

यो खेलले नेपाललाई थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक चुमाएर भुल्नै नसकिने गुण लगाएको छ । नेपालले एसियाली खेलकुदमा हालसम्म जितेका पदकमध्ये सबैभन्दा ठूलो हिस्सा तेक्वान्दोकै छ ।

सन् १९८६ को एसियाली खेलकुदमा नेपालले पहिलोपटक पदक जितेको थियो । त्यतिबेला नेपालले जितेको आठमध्ये चार पदक तेक्वान्दोकै नाममा लेखिएको थियो ।

एसियाली खेलकुदमा नेपाललाई पहिलो रजत पदक दिलाउने खेल पनि तेक्वान्दो नै हो । त्यो पदक सविता राजभण्डारीले सन् १९९८ को बैंकक एसियाडमा जितेकी थिइन् ।

ओलम्पिकमा छनोट चरण पार गरेर सबैभन्दा पहिले देशको प्रतिनिधित्व गर्ने खेल पनि तेक्वान्दो नै हो । महिलातर्फ संगिना वैद्य र पुरुषतर्फ दीपक विष्टले यो उपलब्धि हासिल गरेका थिए ।

पारा ओलम्पिकमा भने नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले कांस्य पदक जितेर इतिहास नै रचेकी छन् । 

तर, नेपाली तेक्वान्दोले सन् २००६ को दोहा एसियाडपछि एसियाली खेलकुदमा पदक जित्न सकेको छैन । जापान एसियामा भने तेक्वान्दोले आफ्नो गुमेको विरासत फर्काउने अनुमान गरिएको छ ।

आगामी एसियाली खेलकुद सन् २०२६ को सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा आयोजना हुँदैछ । तर, यसपटक तेक्वान्दो विगतको भन्दा बढी चुनौती थपिएको छ ।

पहिले ‘वाइल्ड कार्ड’मार्फत सहभागिता जनाउने नेपालले यसपटक तेक्वान्दो खेलमा भने छनोट प्रतियोगिता नै खेल्नुपर्ने भएको छ ।

यसै सन्दर्भमा हामीले पदकको निकै आश गरिएकी खेलाडी सन्तोषीसँग कुराकानी गरेका छौँ । कुराकानीका क्रममा हामीले सन्तोषीलाई उनको खेलजीवन र मंगोलियामा आयोजना हुने एसियाली च्याम्पियनशिपको तयारीका बारेमा प्रश्न गरेका थियौँ ।

एसियाली खेलकुदको तयारी, देशभित्र प्रशिक्षणको अवस्था र वैदेशिक प्रशिक्षणको आवश्यकता, नेपाली खेलकुदको वर्तमान अवस्था र सुधार गर्नुपर्ने पक्षहरूजस्ता विषयमा पनि उनीसँग प्रश्न गरेका थियौँ ।

सन्तोषीका भनाइ हाइलाइट्स:

० छनोट खेल्नुपर्ने भएकाले तेक्वान्दोमा चुनौती थपिएको छ ।

० एसियाडमा देशलाई पदक दिलाउनु एक मात्र लक्ष्य हो ।

० वैदेशिक प्रशिक्षणको व्यवस्था भए थप ‘अन्तर्राष्ट्रिय एक्सपोजर’ पाइन्थ्यो ।

० नेपाली खेलकुदमा सुधारको पाटाहरू धेरै छन् ।

० तेक्वान्दोको ‘पावर हाउस’ नै एसियामै छन् ।

प्रस्तुत छ, तेक्वान्दो खेलाडी सन्तोषीसँग एसियाली खेलकुद र नेपाली खेलकुदसँग जोडिएका समसामयिक विषयमा केन्द्रित रहेर गरिएको कुराकानीकोसम्पादित अंश :

salt training

कमेन्ट गर्नुहोस्