
सभामुख डोलप्रसाद (डीपी) अर्यालले देश र नागरिकलाई सुहाउँदो कानून निर्माणमा विधायकले ध्यान दिनुपर्ने बताएका छन्।
पूर्वसांसद मञ्च नेपालले आज ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवादमा उनले पुराना कानूनको संशोधन र खारेजी तथा भविष्यलाई हेरेर विधायकी कामकारबाही अघि बढाउनुपर्ने बताए ।
सभामुख अर्यालले विधेयकको मस्यौदा निर्माणमा भइरहेको अभ्यासले व्यावहारिकतालाई सम्बोधन गर्न नसकिरहेको दृष्टान्त सुनाए । 'विधेयकको निर्माण कसले गर्दिन्छ, कसलाई सोधेर र कोसँग छलफल गरेर गरिन्छ ?,' उनले भने ।
कानूनको प्रयोगकर्तालाई थाहा नदिई निर्माण भएका कतिपय विधेयकले हाम्रो भूगोल र चेतनाको स्तरलाई समेट्न नसकेको पाइएको उनको भनाइ छ । 'कानूनको प्रयोगकर्तालाई कस्तो कानून बन्छ भन्ने थाहा हुँदैन । हामी कानून बनाइदिन्छौँ, ‘तिमी प्रयोग गर’ भनेर लाद्ने कोसिस गर्छौँ,' सभामुख अर्यालले भने, 'यसबाट जनताले आफूले प्रयोग गर्ने कानून थाहा पाउँदैनन् र जबर्जस्ती सो कानून पालना गर्न बाध्य हुन्छन् ।'
सभामुख अर्यालले मुलुकमा गणतन्त्रको बिहानी ल्याउन पूर्वसांसदहरूले खेलेको भूमिका असाधारण रहेको बताए । उनले अग्रजहरूको अनुभव र तत्कालीन राजनीतिक परिस्थितिमा गरेको सङ्घर्ष तथा पछिल्लो पुस्ताको क्रियाशीलताबाट मुलुक समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरे ।