
नेकपा एमालेका ४ जना उपाध्यक्षले नेतृत्व छाड्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
ओलीकै निवास गुण्डुमा शुक्रबार बसेको सचिवालय बैठकमा विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले ओलीले नेतृत्व छाड्नुपर्ने बताएका हुन् ।
नेताहरूको कार्यविभाजनलगायतका प्रस्तावमाथि छलफल गर्न बसेको सचिवालय बैठकमा बोलेका ५ मध्ये ४ जनाले ओलीले नेतृत्व छाड्नुपर्ने बताएका हुन् । 'आज उपाध्यक्षहरूले बोल्ने क्रम सकियो, रामबहादुर थापा बाहेक अरू सबैले ओलीले नेतृत्व छाड्नुपर्ने कुरा राख्नुभयो,' एक पदाधिकारीले लोकान्तरसँग भने ।
नेतृत्व छाड्न प्रस्ताव गरेपछि ओली नेताहरूसँग फायर भएका थिए । उनले धम्कीको भाषा बोलेको भन्दै उपाध्यक्ष गुरुङले आपत्ति जनाएका थिए ।
बैठक स्रोतका अनुसार शुरूमै पौडेलले अहिलेसम्म गरेको योगदानको कदर गर्ने भन्दै अब ओलीले नेतृत्व छाड्नुपर्ने बताएका थिए । त्यसपछि बोलेका विष्टले पनि समयको मागअनुसार ओलीले नेतृत्व छाड्नुपर्ने बताए ।
उपाध्यक्ष गुरुङले अहिलेको नेतृत्वका कारण चुनावमा एमालेले अनपेक्षित प्रहार व्यहोरेको बताएका थिए । उनले कार्यकर्ताको माग अनुसार ओलीले नेतृत्व छाडेर पार्टी पुनर्गठन गर्नुपर्ने बताएका थिए ।
नेताहरूले बोल्दै गर्दा ओलीले पटकपटक प्रतिवाद गरेका थिए । ओलीबाट धम्कीको भाषा आएको भन्दै गुरुङले आपत्ति जनाएका स्रोतले बतायो ।
'के एमाले पार्टी तपाईंको प्राइभेट कम्पनी हो ? कम्युनिस्ट पार्टी तपाईंको निरंकुश शैलीले चल्छ ?' गुरुङले प्रतिवाद गर्दै भनेका थिए ।
सचिवालय बैठक शनिबार पुनः बस्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिए । शुक्रबारको बैठकमा उपाध्यक्ष रामबहादुर थापाले मात्र नेतृत्वको बचाउ गर्नुपर्ने बताएका थिए ।
जेनजी आन्दोलन र फागुन २१ को चुनावपछि एमालेभित्र नेतृत्व परिवर्तनको बहस चल्दै आएको थियो । तर बैठकमा औपचारिक रूपमा ओलीको राजीनामा माग गरिएको थिएन ।
'उपाध्यक्षहरूले नेतृत्व परिवर्तनको पक्षमा खुलेर कुरा राख्नुभएको छ, भोलि अरू पदाधिकारीले पनि राख्छौं,' एक पदाधिकारीले लोकान्तरसँग भने ।
ओली नै नेतृत्वमा बसिराख्दा १० महिनापछि हुने स्थानीय निर्वाचनमा एमालेले अर्को धक्का व्यहोर्ने खतरा रहेको भन्दै एमालेभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेको छ ।
स्रोतका अनुसार महासचिव शंकर पोखरेललगायत सचिवालयका बहुमत सदस्य नेतृत्व परिवर्तन गरेर जानुपर्ने पक्षमा छन् ।
ओलीले भने कुनै पनि हालतमा नेतृत्व नछाड्ने बताउँदै आएका छन् । पार्टीमा कमजोर बनेपछि ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय सचिवालय बैठकबाटै गराएका थिए ।