२२ जेठ २०८३, शुक्रबार
विश्वकप फुटबल शृंखला- १६

विवाद र रोमाञ्चकताले भरिएको १९८२ को विश्वकप- 'गिजोनको लज्जा'देखि इटालीको ऐतिहासिक उपाधिसम्म

जेठ १३, २०८३
काठमाडौं
विवाद र रोमाञ्चकताले भरिएको १९८२ को विश्वकप- 'गिजोनको लज्जा'देखि इटालीको ऐतिहासिक उपाधिसम्म

विश्वकपको १२औँ संस्करण सन् १९८२ को जुन १३ देखि जुलाई ११ तारिखसम्म स्पेनमा आयोजना भएको थियो । स्पेनमा पहिलो पटक आयोजना भएको यो विश्वकपमा २४ टोली सहभागी थिए ।

एसियाबाट कुवेतले सहभागिता जनाएको थियो । अफ्रिकाबाट भने अल्जेरिया र क्यामरुनले भाग लिएका थिए । ओसेनिया क्षेत्रबाट न्युजिल्यान्ड सहभागी थियो ।

उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट होन्डुरस र एल साल्भाडोरले भाग लिएका थिए । दक्षिण अफ्रिकी क्षेत्रको प्रतिनिधित्व अर्जेन्टिना, ब्राजिल, चिली र पेरुले गरेका थिए ।

युरोपबाट अस्ट्रिया, बेल्जियम, चेकोस्लोभाकिया, इङ्ल्यान्ड, फ्रान्स, हंगेरी, इटाली, उत्तरी आयरल्यान्ड, पोल्यान्ड, स्कटल्यान्ड, सोभियत संघ, स्पेन, पश्चिम जर्मनी र युगोस्लाभिया सहभागी थिए ।

१२औँ विश्वकपका खेलहरू स्पेनको १४ शहरको १७ वटा रंगशालामा खेलाइएको थियो । यो विश्वकपले ‘पेनाल्टी सुटआउट’ को नयाँ नियमलाई पनि फुटबलमा संस्थागत गर्‍यो ।

तर, विश्वकपको यो संस्करण खेलका कारणमात्र नभई मैदानभित्रको हिंसा, विवादास्पद निर्णय र राजनीतिका कारण पनि उत्तिकै चर्चित रह्यो ।

null

‘गिजोनको लज्जा’ र फुटबलमा नैतिकताको खोजी

यो प्रतियोगितामा केही यस्ता खेलहरू पनि भए जसले फुटबलमा नैतिकतामाथि नै प्रश्न उठायो । त्यसैले समूहगत चरणको पश्चिम जर्मनी र अस्ट्रियाबीचको खेललाई फुटबल इतिहासमा ‘डिस्ग्रेस अफ गिजोन’ अर्थात्, ‘गिजोनको लज्जा’ को रूपमा चिनिन्छ ।

समूह–२ मा पश्चिम जर्मनी, अस्ट्रिया, अल्जेरिया र चिली रहेका थिए । सोही समूहको अन्तिम खेल पश्चिम जर्मनी र अस्ट्रियाबीच खेलिने कार्यक्रम थियो ।

खेल शुरू हुनुअघि नै समूह–२ तालिकाको गणित निकै चाखलाग्दो अवस्थामा थियो । अस्ट्रिया र अल्जेरिया चार–चार अंकसहित तालिकाको माथिल्लो दुई स्थानमा थिए ।

प्रत्येक समूहबाट दुई–दुई टोली अघिल्लो चरणमा पुग्ने प्रावधान थियो । पश्चिम जर्मनी भने दुई अंकसहित तेस्रो स्थानमा थियो ।

नियमअनुसार, पश्चिम जर्मनीलाई अर्को चरणमा पुग्न अस्ट्रियाविरुद्ध जित्नै पर्ने दबाब थियो । समग्रमा त्यतिबेला पश्चिम जर्मनी निकै अप्ठ्यारो स्थितिमा थियो ।

अर्कोतिर, अघिल्लो दिन नै अल्जेरिया र चिलीबीचको खेल सकिइसकेकाले पश्चिम जर्मनी र अस्ट्रियालाई कुन नतिजाले आफूहरूलाई फाइदा पुग्छ भन्ने कुरा पनि पहिल्यै नै थाहा थियो ।

समूहगत चरणको अन्तिम खेलको १०औँ मिनेटमा पश्चिम जर्मनीका हर्स्ट हर्बेस्चले गोल गरे । १–० गोलको अग्रतासँगै पश्चिम जर्मनी र अस्ट्रिया दुवैको अर्को चरणमा पुग्ने सम्भावना बलियो भयो ।

त्यसपछि त्यो दिन फुटबल मैदानमा जे भयो, त्यो समग्र खेल जगतकै लागि लज्जास्पद थियो । जर्मनीले एक गोल गरिसकेपछि खेलमा प्रतिस्पर्धा हरायो ।

दुवै टोलीले आक्रमण गर्न छाडे । मैदानमा दुवै टोलीका खेलाडी यताबाट उता बल पास गर्ने र समय बिताउने काममा मात्र केन्द्रित भए । कुनै ‘ट्याकल’ भएन, कुनै आक्रामक मूभ बनेन ।

दर्शकको आक्रोश र रेफ्रीको अभिव्यक्ति

स्टेडियममा उपस्थित हजारौं दर्शकले आफ्नो आक्रोश पोख्न थाले । तर, त्यसले दुवै टोलीका खेलाडीलाई कुनै असर पारेन । 

त्यो खेलमा रेफ्रीको भूमिकामा रहेका बब भ्यालेन्टाइनले सन् २०२२ मा ‘द एथलेटिक’सँगको कुराकानीमा त्यो क्षण सम्झिएका थिए ।

अन्तरवार्तामा उनले भनेका थिए, ‘खेलको २० मिनेटजति बित्दा मलाई केही गडबड छ भन्ने महसुस भयो । खेलाडीहरू ट्याकल गर्नै डराइरहेका थिए । एक खेलाडीले बल लिएर हाफ लाइन काट्नुको साटो आफ्नै गोलरक्षकलाई बल पास दिइरहेका थिए । त्यही बेला मैले बुझें कि यहाँ केही न केही गडबड भइरहेको छ ।’

रेफ्रीको आँखाले देखेको त्यो ‘खेल’ १–० गोलको नतिजामा टुंगियो । नियमभित्र बाँधिएका रेफ्री आफैँ पनि निरीह थिए । अन्तत: पश्चिम जर्मनी र अस्ट्रिया दुवै टोली अर्को चरणमा पुगे । निरीह अल्जेरिया भने उपाधि होडबाट बाहिरिन पुग्यो ।

अल्जेरियाको उजुरी र फिफाद्वारा नियम परिवर्तन

खेल सकिएपछि अल्जेरियाले यस विषयमा फिफामा उजुरी गर्‍यो । त्यो खेलले फिफालाई पनि गम्भीर भएर सोच्न बाध्य बनायो ।

त्यसपछि भविष्यमा यस्ता विवाद नदोहोरियोस् भनेर फिफाले आफ्नो नियममा ठूलो परिवर्तन गर्‍यो । सन् १९८६ को फिफा विश्वकपदेखि समूहगत चरणका अन्तिम दुवै खेल एकै समयमा खेलाउने निर्णय फिफाले दियो ।

आजसम्म पनि हामी विश्वकप वा अन्य ठूला प्रतियोगितामा समूहगतका अन्तिम दुई खेल एकै समयमा खेलाइएको देख्छौं । त्यसको मुख्य कारण सन् १९८२ को त्यही विवादास्पद खेल हो ।

खेलको गरिमा जोगाउन र ‘मिलेमतो’को आशंकालाई सधैंका लागि अन्त्य गर्न त्यो निर्णय फुटबल इतिहासमा कोसेढुंगा साबित भयो ।

हिंसा र विवादका शृंखलाहरू

सन् १९८२ को विश्वकपमा केही खेलाडीको व्यवहार र आक्रामक रवैयाले फुटबलको सुन्दरतालाई नै ओझेलमा पारेको थियो ।

null

सेमिफाइनलमा पश्चिम जर्मनीका गोलरक्षक हेराल्ड सुमाकरले फ्रान्सका प्याट्रिक ब्याटिस्टनमाथि गरेको क्रूर फल अझै पनि फुटबल जगतको कालो अध्याय मानिन्छ ।

यसैगरी, अर्जेन्टिनाका युवा स्टार डिएगो म्याराडोनालाई इटालीका क्लाउडियो जेन्टाइलले गरेको हिंसक मार्किङले पनि प्रतियोगितालाई थप विवादित बनाएको थियो ।

यो विश्वकपका क्रममा मैदानभित्रका देखिएका यस्ता हिंसात्मक खेलका कारण नै फिफा अर्को विश्वकपमा नियमहरू अझ कडा बनाउन बाध्य भएको थियो ।

फुटबलसँगै जोडिएको राजनीति

यो विश्वकप राजनीतिका कारण पनि चर्चित रह्यो । त्यसैले यो विश्वकपको आयोजना स्पेनका लागि राजनीतिक रूपमा पनि चुनौतीपूर्ण थियो ।

फ्रान्को पुरानो शासनको अन्त्यपछिको प्रजातान्त्रिक संक्रमणकालीन समयमा स्पेनले यो विश्वकप आयोजना गरेको थियो ।

साथै, अर्जेन्टिना र बेलायतबीचको ‘फकल्याण्ड युद्ध’का कारण बेलायती टोली (इङ्ल्यान्ड, उत्तरी आयरल्यान्ड र स्कटल्यान्ड) प्रतियोगितामा सहभागी हुने कि नहुने भन्ने ठूलो बहस चलेको थियो ।

अन्तत: राजनीतिक प्रचारबाजी नहोस् भन्ने उद्देश्यले बेलायती टोलीहरू पनि यो विश्वकपमा सहभागी हुन तयार भएका थिए ।

विस्तारित विश्वकप र नयाँ युगको शुरूआत

सन् १९८२ को विश्वकप आफैँमा ऐतिहासिक थियो । सहभागी राष्ट्रहरूको संख्यामा भएको वृद्धिले फिफालाई विश्वकपको स्वरूप परिवर्तन गर्न बाध्य बनाएको थियो ।

सन् १९६२ मा ५७ टोलीले छनोट चरण खेलेकोमा सन् १९८२ सम्म आइपुग्दा यो संख्या बढेर एक सय तीन पुगिसकेको थियो ।

फलस्वरूप, विश्वकपमा सहभागी हुने टोलीको संख्या १६ बाट बढाएर २४ पुर्‍याइएको थियो । अफ्रिका र एसियाको सहभागितामा भएको वृद्धिले फुटबलको विश्वव्यापी विस्तारलाई पुष्टि गरेको थियो ।

मराडोनाको उदय र अर्जेन्टिनाको संघर्ष

साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्नेमा आशावादी देखिन्थ्यो । त्यतिबेला अर्जेन्टिनाको लय पनि गजबकै थियो ।

अघिल्लो संस्करणका नायक मारियो केम्पस लयमा नदेखिए पनि फुटबलका नयाँ ‘जादूगर’ डिएगो म्याराडोना विश्व फुटबल मञ्चमा उदाउँदै थिए ।

तर, उदीयमान म्याराडोनाका लागि यो यात्रा सुखद् रहेन । विपक्षी टोलीहरूको कठोर डिफेन्स र आफ्नै कठोर आक्रोशले अन्तत: उनलाई रातो कार्ड खान बाध्य बनायो ।

म्याराडोनाको त्यो रातो कार्डले उनलाई मात्र घाटा पुर्‍याएन, सँगसँगै अर्जेन्टिनाको विश्वकप उपाधि जोगाउने महत्वाकांक्षी अभियानलाई धक्का दियो ।

रोमाञ्चक नतिजा र ‘अन्डरडग’को चमत्कार

यो विश्वकपमा साना टोलीहरूले आफूभन्दा बलिया हस्तीहरूलाई दिएको चुनौतीले दर्शकलाई चकित पारेको थियो । क्यामरुन एउटा पनि खेल नहारी प्रतियोगिताबाट बाहिरियो, जुन निकै दुर्भाग्यपूर्ण थियो ।

उता, अल्जेरियाले साविकको युरोकप विजेता पश्चिम जर्मनीलाई २–१ गोलले हराउँदै विश्वकप इतिहासकै एउटा सनसनीपूर्ण नतिजा निकाल्यो ।

null

अर्कोतर्फ, आयोजक स्पेनको प्रदर्शन पनि फितलो रह्यो । पहिलो खेलमा गतिलो संघर्ष गरेको स्पेनले दोस्रो खेलमा विवादास्पद पेनाल्टीको मद्दतले मात्र नतिजा आफ्नो पक्षमा पार्न सकेको थियो ।

ब्राजिलको जादू र इटलीको संयम

यो विश्वकपमा ब्राजिल र फ्रान्सले निकै सुन्दर खेल पस्किएर दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएका थिए । ब्राजिलियन टोलीमा जिको, सोक्रेटस र फाल्काओजस्ता खेलाडी थिए ।

अर्कोतिर, फ्रान्सेली टोलीमा पनि मिचेल प्लाटिनी, मारियस पल ट्रेसर, रेने एमिल गिरार्ड, म्यानुअल अमोरोस, म्याक्सिम बोसिसजस्ता अनुभवी खेलाडी थिए ।

तर, सुन्दर फुटबल खेल्ने ब्राजिल इटलीसँगको हारपछि नकआउट चरणमै पुग्न सकेन । फ्रान्सेली टोली पनि सेमिफाइनलमा पश्चिम जर्मनीसँग पेनाल्टी सुटआउटमा ५–४ गोलले स्तब्ध: बन्यो ।

अन्तत: इटली र पश्चिम जर्मनीको टोली फाइनलमा आमने–सामने भएका थिए । यी दुई टोलीको खेललाई अहिले पनि धेरैले विश्वकप इतिहासकै उत्कृष्ट खेलमध्ये एक मान्छन् ।

जब इटालीले इतिहास रच्यो

पोल्यान्ड, इटली, पश्चिम जर्मनी र फ्रान्स सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा इटलीले पोल्यान्डलाई र पश्चिम जर्मनीले फ्रान्सलाई पराजित गरे ।

तेस्रो स्थानका लागि भएको खेलमा पोल्यान्डले फ्रान्सलाई हरायो । अन्तत: म्याड्रिडको सान्टियागो बर्नाबेउ रंगशालामा भएको रोमाञ्चक फाइनलमा इटालीले इतिहास रच्यो ।

null

फाइनलमा खेलमा इटालीले पश्चिम जर्मनीलाई ३–१ गोलले हराउँदै उपाधिमात्र कुम्ल्याएन, सँगसँगै तीनपटक विश्वकपको उपाधि उचाल्ने पहिलो टोली पनि बन्यो ।

समग्रमा, सन् १९८२ को विश्वकपले फुटबलमा प्रविधिको प्रयोग, पेनाल्टी सुटआउटको नयाँ शुरूआत र २४ टोलीको ढाँचालाई स्थापित गरायो । यो विश्वकपले फुटबल मैदानमा खेल कौशलमात्र होइन, मानव व्यवहार, राजनीति र नियमको सीमालाई पनि परीक्षण गरेको थियो ।

null

१२औँ विश्वकपसँग जोडिएका केही रोचक कथा :   

० अचम्मको कीर्तिमान :यो विश्वकपपछि इटलीका गोलरक्षक डिनो जोफ ४० वर्ष १२२ दिनको उमेरमा विश्वकप जित्ने सबैभन्दा पाका खेलाडी बनेका थिए ।

० गोलको वर्षा : हंगेरीले एल साल्भाडोरलाई १०–१ गोलको विशाल अन्तरले हराएको थियो । यो नतिजा  विश्वकप इतिहासकै सर्वाधिक ठूलो गोलान्तरमध्ये एक हो ।

० नयाँ शुरूआत :यो विश्वकपमा पहिलोपटक ६ वटै महादेशबाट टोलीको प्रतिनिधित्व रहेको थियो । अल्जेरिया, क्यामरुन, होन्डुरस, कुवेत र न्युजिल्यान्डले पहिलोपटक विश्वकप खेलेका थिए ।

० विवादित पेनाल्टी : कुवेत र फ्रान्सबीचको खेलमा दर्शकदीर्घाबाट आएको सिट्ठीको आवाजलाई रेफ्रीको सिट्ठी सम्झिएर कुवेतका खेलाडी रोकिएका थिए । तर, रेफ्रीले फ्रान्सलाई गोल दिए ।

० जब कुवेतका शेख विरोध गर्न मैदानमा ओर्लिए :कुवेत र फ्रान्सबीचको खेलमा रेफ्रीको निर्णयबाट असन्तुष्ट देखिएका कुवेतका शेख फाहाद आफै मैदानमा उत्रिएर विरोध गरेका थिए । त्यसपछि रेफ्रीले कुवेतलाई दिएको गोल रद्द गरिएको थियो ।

० मस्कट र स्पेनको पहिचान : विश्वकपको आधिकारिक ‘मस्कट’ सुन्तला आकारको ‘नाहरान्जितो’ थियो । पछि त्यो समग्र स्पेनकै पहिचान बन्न पुगेको थियो ।

० एक सय पहेँलो कार्ड :यो विश्वकपमा कुल ५२ खेल खेलाइएको थियो । त्यसमा २.८० को औसतले कुल एक सय ४६ गोल भएको थियो । खेलका क्रममा रेफ्रीले एक सय पहेँलो र पाँचवटा रातो कार्ड प्रयोग गरेका थिए ।

० अफ्रिकाको उपस्थिति :यो विश्वकपमा अफ्रिकाबाट अल्जेरिया र क्यामरुन सहभागी भएका थिए । विश्वकपको इतिहासमा यसरी अफ्रिकाबाट पहिलो पटक दुई राष्ट्र सहभागी भएका हुन् ।

० होन्डुरसको हुँकार :२२ वर्षमा पहिलो पटक होन्डुरसले आफ्नो सुरुवाती खेलमा बेल्जियमलाई पराजित गरेको थियो ।

० रोबसनको कमाल :इङ्ल्यान्डले बिल्बाओमा खेलिएको खेलमा फ्रान्सलाई ३–१ गोलले हराउँदै प्रतियोगिताको सुखद सुरुवात गरेको थियो । त्यो खेलमा ब्रायन रोबसनले २७ सेकेन्डमै गोल गरेका थिए, जुन विश्वकपको नयाँ कीर्तिमान थियो ।

० जब पेलेको कीर्तिमान तोडियो :समूहगत चरणको आफ्नो पहिलो खेलमा उत्तरी आयरल्यान्डले युगोस्लाभियाको सामना गरेको थियो । गोलरहित बराबरीमा सकिएको त्यो खेलमा नर्मन ह्वाइटसाइडले ‘डेब्यू’ गरेका थिए । त्यतिबेला उनको उमेर १७ वर्ष ४२ दिनमात्र थियो । त्यसपछि नर्मन ब्राजिलियन लिजेन्ड पेलेको रेकर्ड तोड्दै सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने खेलाडी बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्