२२ जेठ २०८३, शुक्रबार

नेपाल आज इन्डोनेसियासँग भिड्दै, सजिलै सेमिफाइनलमा पुग्ने दाउ

जेठ १४, २०८३
काठमाडौं
नेपाल आज इन्डोनेसियासँग भिड्दै, सजिलै सेमिफाइनलमा पुग्ने दाउ

आगामी एसियाली खेलकुदको छनोट प्रतियोगितामा बिहीबार नेपालले इन्डोनेसियाको सामना गर्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल विहान ११:४५ बजे शुरू हुनेछ ।

जारी छनोट प्रतियोगितामा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि, बुधबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले हराएको थियो ।

यो खेलमा विजयी भए नेपाली टोली सजिलै प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ । योसँगै नेपाली टोलीको आगामी एसियाली खेलकुद खेल्ने सम्भावना पनि बलियो बन्नेछ ।

छनोट प्रतियोगितामा ६ टोली सहभागी छन् । समूह ‘ए’मा थाइल्यान्ड, मलेसिया र हङ्कङ छन् । समूह ‘बी’मा नेपाल, चीन र इन्डोनेसिया रहेका छन् ।

मलेसियाको क्वालालम्पुरमा जारी प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यो छनोट प्रतियोगिताबाट तीनवटा टोली जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा छनोट हुनेछन् ।

छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली र तेस्रो हुने टोलीले एसियाली खेलकुदमा स्थान पक्का गर्ने प्रावधान छ ।

एसियाली खेलकुदको महिला क्रिकेटमा नौ टोलीको सहभागिता रहने छ । ६ वटा टोली यसअघि नै एसियाली खेलकुदमा छनोट भइसकेका छन् ।

जापानले आयोजकका रुपमा एसियाली खेलकुद खेल्नेछ । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानले आईसीसीको पूर्णकालीन सदस्य राष्ट्रको रूपमा सहभागिता जनाउने छन् ।

आगामी एसियाली खेलकुद सन् २०२६ को सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा आयोजना हुँदैछ ।

यसअघि, चीनविरुद्धको खेलमा नेपालले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय २५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको चीनको टोलीले भने निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ६ रनमात्र बनाउन सक्यो ।

नेपाली टोलीका लागि पूजा महतोले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । ओपनर ब्याट्र पूजाले लामो समय टिकेर ६३ रन बनाएकी थिइन् ।

२० वर्षीया पूजाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक थियो । रुवी पोद्दारले पनि २५ बलमा अविजित २२ रन बटुलेकी थिइन् ।

चीनलाई लक्ष्यसम्म पुग्न नदिन नेपाली टोलीका बलरले कसिलो बलिङ गरेका थिए । रिया शर्माले दुई विकेट लिइन् । मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले पनि एक–एक विकेट हात पारे ।

तालिकामा एक खेलबाट दुई अंक बटुलेको नेपाल पहिलो स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको चीन दोस्रो र पहिलो खेलमै पराजित भएको इन्डोनेसिया तेस्रो स्थानमा आसिन छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्