
अमेरिका र इरानबीच युद्धविराम विस्तारसम्बन्धी सम्भावित सहमतिको समाचार सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय तेल बजार केही स्थिर देखिएको छ । यद्यपि, तेलको मूल्य यस साता अप्रिलयताकै सबैभन्दा ठूलो साप्ताहिक गिरावटतर्फ उन्मुख रहेको छ ।
शुक्रबार बिहान अन्तर्राष्ट्रिय बजारमा जुलाई डेलिभरीका लागि ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ३४ सेन्ट अर्थात् ०.३ प्रतिशतले घटेर ९४.०५ अमेरिकी डलरमा झरेको थियो ।
अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) तेलको मूल्य भने ८८.८९ डलरमा स्थिर रहेको थियो । कारोबारको शुरूआती चरणमा दुवै सूचक एक प्रतिशतभन्दा बढीले घटेका थिए ।
यस साता ब्रेन्ट क्रुडको मूल्य करिब ९ प्रतिशतले घटेको छ, जुन अप्रिल ६ पछिकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट हो । डब्लुटीआईको मूल्य पनि झण्डै ८ प्रतिशतले ओरालो लागेको छ, जुन अप्रिल १३ यताकै सबैभन्दा ठूलो साप्ताहिक कमी मानिएको छ ।
यूबीएसका विश्लेषक जियोभान्नी स्टाउनोभोले होर्मुज जलडमरूमध्यमार्फत तेल ढुवानी अझै सीमित रहे पनि बजारको मुख्य चासो अमेरिका र इरानबीच सम्भावित सम्झौतामा केन्द्रित रहेको बताए ।
रोयटर्सका अनुसार अमेरिका र इरानबीच बिहीबार युद्धविरामको अवधि थप लम्ब्याउने तथा होर्मुज जलडमरूबाट जहाज आवागमनमाथि लगाइएका प्रतिबन्ध हटाउने विषयमा सहमति भएको छ ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सहमतिलाई अन्तिम स्वीकृति दिएका छैनन् भने इरानी सरकारी सञ्चारमाध्यमले पनि सम्झौता अन्तिम रूप नपुगेको जनाएको छ ।
पछिल्ला केही दिनयता तेल बजार अत्यधिक उतारचढावपूर्ण बनेको छ । इरानसँगको युद्ध अन्त्य हुने वा नहुने तथा होर्मुज जलडमरू पुनः खुल्ने वा नखुल्ने विषयमा आएका परस्परविरोधी संकेतका कारण ब्रेन्ट र डब्लुटीआई दुवैको मूल्य एकै दिन ६ डलरसम्म तलमाथि भएको थियो ।
विश्वको करिब पाँचौं भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास आपूर्ति हुने प्रमुख मार्गका रूपमा रहेको होर्मुज जलडमरूबाट हालको जहाज आवागमन युद्धअघिको तुलनामा निकै कम रहेको छ ।
आईएनजीका विश्लेषकहरूले जलडमरू पुनः पूर्ण रूपमा सञ्चालनमा आए तेल बजारलाई तत्काल केही राहत मिल्ने बताएका छन् । तर आपूर्ति प्रणाली पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने उनीहरूको आकलन छ ।
मध्यपूर्वी तेलमा अत्यधिक निर्भर जापानले गत महिना कच्चा तेल आयातमा ठूलो गिरावट भोगेको छ । जापानको कच्चा तेल आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६६ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।
अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए)का अनुसार गत साता अमेरिकामा कच्चा तेल, पेट्रोल तथा अन्य इन्धनको मौज्दात घटेको छ । रिफाइनरी र उपभोक्ताको माग बढे पनि निर्यात दैनिक ११ लाख ६० हजार ब्यारेलले घटेर ४४ लाख ब्यारेलमा झरेको प्रशासनले जनाएको छ ।