
च्याम्पियन्स लिगको फाइनलमा आज राति इङ्लिस क्लब आर्सनल र फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ।
हंगेरीको बुडापेस्टस्थित पुस्कास एरेनामा नेपाली समयअनुसार राति पौने १० बजेदेखि यो बहुप्रतिक्षित खेल हुन लागेको हो ।
उच्च मनोबलमा रहेको आर्सनल आफ्नो इतिहासमा पहिलोपटक च्याम्पियन्स लिगको ट्रफी उचाल्ने दाउमा छ भने साविक विजेता पीएसजी लगातार दोस्रो पटक उपाधि जोगाउने लक्ष्यका साथ मैदान उत्रिनेछ।
यस सिजनको फाइनललाई दुई स्पेनिस प्रशिक्षक मिकेल आर्टेटा र लुइस एनरिकेबीचको रणनीतिक लडाइँका रूपमा पनि हेरिएको छ। खेलअघि सार्वजनिक गरिएको सुरुवाती ११ मा आर्सनलका प्रशिक्षक आर्टेटाले केही साहसी र आश्चर्यजनक निर्णयहरू लिएका छन्। उनले १९ वर्षीय युवा मिडफिल्डर माइल्स लुइस-स्केलीलाई सिधै फाइनलको सुरुवाती टोलीमा अवसर दिएका छन्। यो निर्णयलाई धेरैले आर्टेटाको 'मास्टरस्ट्रोक' मानिरहेका छन्।
त्यस्तै, अग्रपंक्तिमा भिक्टर ग्योकेरेसको स्थानमा काइ हाभर्ट्जलाई प्राथमिकता दिइएको छ। हाभर्ट्जसँग यसअघि चेल्सीबाट च्याम्पियन्स लिगको फाइनलमा निर्णायक गोल गरेको अनुभव छ, जसलाई आर्टेटाले आजको खेलमा उपयोग गर्न चाहेका देखिन्छन् ।
रक्षापंक्तिमा आर्सनलले २१ वर्षीय क्रिस्टियन मोस्क्वेरालाई राइट-ब्याकको भूमिकामा उतारेको छ भने चोटबाट फर्किएका जुरियन टिम्बरलाई बेन्चमा राखिएको छ। अर्कोतर्फ, पीएसजीका प्रशिक्षक लुइस एनरिकेले आफ्नो टोलीको बलियो आक्रमणलाई निरन्तरता दिएका छन्।
चोटको आशंका गरिएका अचरफ हाकिमी पूर्ण रूपमा फिट हुँदै मैदान उत्रिएका छन्। पीएसजीको अग्रपंक्तिमा ओस्मान डेम्बेले, ख्विचा क्रात्सेलिया र डिजायर डोए जस्ता खतरनाक खेलाडीहरूको उपस्थिति छ, जसले आर्सनलको रक्षापंक्तिलाई ठूलो चुनौती दिने अपेक्षा गरिएको छ।
यस खेलको अर्को रोचक पक्ष दुवै टोलीका खेलाडीहरूको 'वर्कलोड' र थकान देखिएको छ। तथ्याङ्कअनुसार आर्सनलका खेलाडीहरूले पीएसजीको तुलनामा यस सिजन लिग खेलहरूमा करिब ७ हजार मिनेट बढी समय मैदानमा बिताएका छन्।
आर्सनलको यो सिजनको ६३औँ खेल हो भने पीएसजीका लागि यो ५६औँ खेल मात्र हो। पीएसजीका प्रशिक्षक एनरिकेले लिग वानमा आफ्ना मुख्य खेलाडीहरूलाई पर्याप्त आराम दिने सुविधा पाएका थिए, जसको फाइदा आजको खेलमा पीएसजीलाई हुन सक्ने विश्लेषण गरिएको छ।
तर, आर्सनलका कप्तान मार्टिन ओडेगार्ड र डिक्लान राइस जस्ता खेलाडीहरूको उच्च फर्मले उक्त थकानलाई छायामा पार्न सक्ने देखिन्छ।
खेलअघिको पत्रकार सम्मेलनमा आर्सनलका प्रशिक्षक आर्टेटाले आफूहरू इतिहास रच्न तयार रहेको बताए। उनले भने, 'पीएसजी साविक विजेता हो र उनीहरूले यो उपाधि जितेका छन्, तर हामी यहाँ उनीहरूबाट त्यो खोस्न आएका हौँ।' यता पीएसजीका प्रशिक्षक एनरिकेले भने उपाधि रक्षा गर्नुको आफ्नै गरिमा हुने भन्दै आर्सनललाई चेतावनी दिए। उनले पीएसजीले इतिहासको किताबमा आफ्नो नाम लेखाइसकेको र लगातार दोस्रो पटक उपाधि जित्नु अझ ठूलो उपलब्धि हुने उल्लेख गरे।
रणनीतिक रूपमा पनि यो खेल निकै रोचक हुने अनुमान छ।
आर्सनलका लागि यो फाइनल सन् २००६ पछिको पहिलो ठूलो अवसर हो। त्यतिबेला आर्सनल बार्सिलोनासँग पराजित भएको थियो। आजको खेल जित्दै आर्सनल आफ्नो १४० वर्षको इतिहासमा पहिलो पटक युरोपको राजा बन्ने दाउमा छ। पीएसजी भने गत वर्ष इन्टर मिलानलाई ५-० ले हराएर च्याम्पियन बनेको थियो र सोही लयलाई कायम राख्न चाहन्छ। बुडापेस्टको मैदानमा हुने यो भिडन्तले विश्वभरका फुटबल प्रेमीहरूको ध्यान तानेको छ।