
प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपाल–भारत सीमाका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
कांग्रेस प्रवक्ता देवराज चालीसेले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको 'हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ' भन्ने प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार र राष्ट्रहित विपरीतको संज्ञा दिएका छन्।
कांग्रेसले प्रधानमन्त्रीको यो अभिव्यक्तिले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र कूटनीतिक विश्वसनीयतामाथि गम्भीर आघात पुर्याएको दाबी गरेको छ। ऐतिहासिक तथ्य र प्रमाण बिना संसद्को रोष्टममा उभिएर हल्का ढङ्गले दिइएको यस्तो विचार अक्षम्य र निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी जस्तो संवेदनशील भूमिको विषय र सीमानाका सामान्य प्राविधिक पक्षलाई एउटै डालोमा राखेर हामीले पनि सीमा मिचेका छौँ भन्नुले नेपालको स्थापित राष्ट्रिय अडानलाई कमजोर बनाएको कांग्रेसको ठहर छ।
साथै, प्रधानमन्त्रीले सीमा समस्याबारे बेलायत (इङ्गल्याण्ड) सँग कुरा भइरहेको भनी दिएको बयानलाई कांग्रेसले 'हास्यास्पद र कूटनीतिक अपरिपक्वता' भनेको छ। दुईपक्षीय सीमा समस्या समाधानका स्थापित संयन्त्रहरूलाई नजरअन्दाज गर्दै प्रधानमन्त्रीले कुन आधारमा यस्तो दाबी गर्नुभएको हो भन्दै कांग्रेसले प्रश्न उठाएको छ।
यो भनाइप्रति कांग्रेसले बालेन शाह र सरकारसँग अविलम्ब संसद् र जनतासमक्ष स्पष्टीकरण दिन माग गरेको छ।