
नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भव्य स्वागत गरिएको छ ।
रविलाई भाजपा अध्यक्ष नीतिन नविनलगायतले मुख्यालयमा भव्य स्वागत गरेका हुन् ।
स्वागतपछि मुख्यालयमा मंगलबार मध्याह्न उनीहरूबीच भेटवार्ता भएको छ ।
भेटका क्रममा नेताहरूले लामिछानेलाई भाजपा कार्यालयको संरचनाबारे जानकारी गराएका थिए ।
यसअघि भाजपा मुख्यालयमा रविलाई रेड कार्पेटमा भव्य स्वागत गरिएको थियो ।
रवि मुख्यालय पुग्दा परम्परागत झाँकी र फूलमालासहित भाजपा नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए ।
सभापति लामिछानेको स्वागतमा नयाँ दिल्लीका विभिन्न स्थानमा लामिछानेको तस्वीर राखिएको छ ।

लामिछाने पाँच दिने भ्रमणका लागि सोमबार भारत गएका हुन् । उनी सोमबार दिल्ली प्रस्थान गरेका थिए । दिल्ली विमानस्थलमा लामिछानेलाई भाजपा महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए ।

रास्वपाका अनुसार लामिछानेले जुन ५ तारिखसम्म नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछन् ।

उनले भाजपा नेतृत्व, भारतस्थित नेपाली समुदाय तथा शुभेच्छुकहरूसँग भेटघाट गर्नुका साथै अयोध्याको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ।

रविसँगै उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य भारत भ्रमणमा छन् ।