२४ जेठ २०८३, आइतबार

राष्ट्रपति रनिङ सिल्ड : अविनाश र भगवतीले बनाए जुनियर राष्ट्रिय कीर्तिमान

जेठ २०, २०८३
काठमाडौं
राष्ट्रपति रनिङ सिल्ड : अविनाश र भगवतीले बनाए जुनियर राष्ट्रिय कीर्तिमान

अविनाश सुनार र भगवती खड्काले १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा बुधबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

अविनाशले छात्र हाइजम्पमा र भगवतीले छात्रा चार सय मिटर दौडमा कीर्तिमान बनाएका हुन् । दुवै खेलाडी बागमती प्रदेशका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अविनाशले १.८६ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको १.८२ मिटरको कीर्तिमान सुधार गरेका हुन् ।

यसअघि, अविनाशले गत साता सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्डमा १.८२ टिमरको कीर्तिमान बनाएका थिए । उक्त स्पर्धामा कोशी प्रदेशका टंक यादव दोस्रो र गण्डकी प्रदेशका सनुन चौधरी तेस्रो भए ।

सोही स्पर्धाको छात्रातर्फ गण्डकी प्रदेशकी आराध्य चालिसे र सुदूरपश्चिम प्रदेशकी सुनिता पार्की संयुक्त रुपमा पहिलो भए । दुवै १.४३ मिटर उचाइ नाघे । कोशीकी सुस्मिता बस्नेत तेस्रो भइन् ।

छात्रा चार सय मिटर दौडमा भगवतीले हिट चरणमा निर्धारित दूरी ५८.९४ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् ।

यसअघि एक मिनेट ०१.१९ सेकेन्डको कीर्तिमान सुदूरपश्चिम प्रदेशकी संगीता विकको नाममा थियो । फाइनलमा भने भगवतीले निर्धारित दूरी ५९.११ सेकेन्डमा तय गर्दै स्वर्ण जितिन् ।

उक्त स्पर्धामा बागमती प्रदेशकै अनिशा थारु दोस्रो र लुम्बिनी प्रदेशकी रोशनी कामी तेस्रो भए । सोही स्पर्धाको छात्रमा बागमतीका निरज शाह पहिलो भए ।

उनले निर्धारित दूरी ५०.९४ सेकेन्डमा पूरा गरे । गण्डकी प्रदेशका अतित थापा दोस्रो र गण्डकी प्रदेशकै अंकित रानाभाट तेस्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भइरहेको प्रतियोगिताको छात्र एक सय मिटर दौडमा बागमती प्रदेशका प्रविन राना पहिलो भए । उनले निर्धारित दूरी १०.४६ सेकेन्डमा पूरा गरे ।

उक्त स्पर्धामा सुदूरपश्चिम प्रदेशका सुरेश चौधरीले रजत र लुम्बिनी प्रदेशका भगवानदास लोहारले कांस्य पदक जिते ।

सोही स्पर्धाको छात्रामा लुम्बिनी प्रदेशकी गरिमा चौधरी निर्धारित दूरी १३.५० सेकेन्ड पार गर्दै पहिलो भइन् । लुम्बिनीकै आशिका चौधरी दोस्रो र बागमती प्रदेशकी सुरुची मोक्तान तेस्रो भए ।

यसैगरी, छात्र एक हजार पाँच सय मिटर दौड चार मिनेट १३.७ सेकेन्डमा पूरा गर्दै बागमती प्रदेशका हस्त सुनार पहिलो भए ।

उक्त स्पर्धामा लुम्बिनी प्रदेशका अरविन्द्रकुमार यादव दोस्रो र कर्णाली प्रदेशका अनिल शाही तेस्रो भए । सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी अस्मिता धानुक पहिलो भइन् ।

अस्मिताले दौड पूरा गर्न पाँच मिनेट १३.९ सेकेन्ड समय लगाइन् । लुम्बिनी प्रदेशकी अञ्जुली मल्ल दोस्रो र बागमतीकी शर्मिला विक तेस्रो भए ।

सटपुटको छात्रमा बागमतीका महेन्द्र केसी प्रथम भए । उनले १३.४० मिटर थ्रो गरे । लुम्बिनीका राजन भण्डारी द्वितीय र कर्णालीका अनन्त विक तृतीय भए ।

सोही स्पर्धाको छात्रामा ९.६० मिटर थ्रो गरेकी सुदूरपश्चिमकी पूजा साउद पहिलो भइन् । बागमतीका मनमाया थिङ दोस्रो र अप्सरा श्रेष्ठ तेस्रो भए ।

salt training

कमेन्ट गर्नुहोस्