
रुपन्देहीमा निजी क्षेत्रको लगानीमा क्रिकेट पूर्वाधार तीव्र रूपमा विस्तार भइरहेका बेला सरकारी स्वामित्वको सिद्धार्थ क्रिकेट रङ्गशाला भने अझै निर्माण सम्पन्न हुन सकेको छैन।
तिलोत्तमा नगरपालिका–१७ पूर्वदरखसवामा अष्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद कुँवरको लगानीमा करिब ६० करोड रुपैयाँ लागतमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण अन्तिम चरणमा पुगेको छ। छ बिघा क्षेत्रफलमा फैलिएको मैदानमा ड्रेसिङ रुम, मिडिया बक्स र भिआइपी बक्सलगायतका संरचना निर्माण भइरहेका छन्।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शक्ति गौचनका अनुसार मैदान राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालनका लागि तयार भइसकेको छ। हाल दुईदेखि तीन हजार दर्शक अट्ने क्षमता रहेको मैदानलाई आगामी दिनमा १५ देखि २० हजार दर्शक क्षमतामा विस्तार गर्ने योजना छ।
यता, भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालाको स्तरोन्नति योजना भने बजेट अभावका कारण सुस्त छ। २०६८ सालमा सुरु भएको परियोजनाको हालसम्म करिब १६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।
रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाका अनुसार पर्याप्त बजेट विनियोजन नहुनु र बहुवर्षीय योजनाअन्तर्गत काम अघि नबढ्नु परियोजना ढिलाइको मुख्य कारण हो। प्रारम्भिक रूपमा ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको रङ्गशालाको निर्माण खर्च बढेर अहिले ७० करोड रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ।
क्रिकेटप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सरोकारवालाले निजी क्षेत्रको लगानीसँगै सरकारी रङ्गशाला निर्माणलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।