०७ साउन २०८३, बिहीबार

डिजिटल मैदानमा हामी नराम्ररी पछारियौं- शंकर पोखरेल

असार ३, २०८३
विराटनगर
डिजिटल मैदानमा हामी नराम्ररी पछारियौं- शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी डिजिटल मैदानमा नराम्ररी पछारिएको स्वीकार गरेका छन् ।

विराटनगरमा बुधबार आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा बोल्दै महासचिव पोखेरलले एमालेले आफूलाई विकास र सामाजिक न्यायको च्याम्पियन दाबी गरे पनि व्यवहारमा जनताको विश्वास गुमाउँदै जानु र आधारभूत सेवामा असफल हुनु लज्जास्पद भएको बताए । 

विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारी साख जोगाउन नसक्दा जनतामा आक्रोश बढेको र त्यसको बदला उनीहरूले निर्वाचनमार्फत् लिएको उनको विश्लेषण थियो ।

नयाँ राजनीतिक शक्तिहरूको उदय र एमालेको पराजयबारे रोचक टिप्पणी गर्दै पोखरेलले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि र एजेन्ट गाउँमा नदेखिए पनि उनीहरूले मोबाइलबाटै एमालेको किल्ला ढालेका हुन् ।’ 

एमालेका कार्यकर्ता प्रविधिको सामान्य प्रयोगकर्ता मात्रै सीमित भएको तर नयाँ शक्तिले प्रविधिमा दख्खल राख्ने नयाँ पुस्तालाई ‘क्याम्पियनर’ बनाएकाले एमाले पछि परेको उनले बताए । 

भर्चुअल दुनियाँमा आफूलाई प्रस्तुत गर्न नसक्नु र पुरानै शैलीमा रमाइरहनु पार्टीका लागि घातक सिद्ध भएको पोखरेलको भनाइ छ ।

अब कार्यकर्ताले मन पराएको व्यक्ति मात्र भएर नपुग्ने र जनताले स्वीकार्ने उम्मेदवार नभए फेरि पराजय भोग्नुपर्ने पोखरेलको चेतावनी छ । नेतृत्वको रूपान्तरण र अन्तरपुस्ता आबद्धताको विषयमा पार्टीले केवल गफ मात्र गरेको तर ठोस काम नगरेकोमा उनले असन्तुष्टि व्यक्त गरे ।

सोभियत संघको पतनको उदाहरण दिँदै महासचिव पोखरेलले एमालेको भविष्यमाथि गम्भीर प्रश्न उठाए । उनले सोभियत संघ बाह्य षड्यन्त्रले भन्दा पनि आन्तरिक कमजोरी र जनताको चाहना सम्बोधन गर्न नसक्दा ढलेको स्मरण गराउँदै एमालेविरुद्ध बाह्य षड्यन्त्र भएको भन्दै रुवाबासी नगर्न नेता–कार्यकर्तालाई आग्रह गरे । 

‘जनता साथमा भए कुनै पनि षड्यन्त्र सफल हुँदैन, तर हामीले जनताको साथ गुमाउँदै गएकाले विपक्षीका सानातिना चालहरू पनि सफल भइरहेका छन्,’ उनले भने ।

तत्कालीन नेकपाको विभाजन नै आजको राजनीतिक अस्थिरता र नयाँ शक्तिहरूको उदयको मुख्य कारक रहेको पोखरेलको भनाइ छ  । जनतामा जगाएको अभूतपूर्व आशा पूरा गर्न नसक्दा जनमत बिच्किएको उल्लेख गर्दै उनले भने, ‘नेकपा विभाजन हुनु र हामीले आशा गरे अनुसारको परिणाम दिन नसक्नु नै नयाँ शक्तिको उदयको कारण हो, यो अरू कसैको काम होइन, हाम्रै कमजोरीको उपज हो ।’ 

अब एमाले कार्यकर्ता प्रश्न लिएर होइन, जनताका समस्याको समाधान लिएर गाउँ पस्नुपर्ने र पुरानो कार्यशैली त्यागेर नयाँ ढंगले अघि बढ्नुपर्नेमा महासचिव पोखरेलले जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्