२४ असार २०८३, बुधबार
सरसर्ती २४ घण्टा

नेपालमा ढिलागरी मनसुन प्रवेशदेखि मन्त्रीको निवासमा प्रहरीको खानतलासीसम्म

असार ६, २०८३
काठमाडौं
नेपालमा ढिलागरी मनसुन प्रवेशदेखि मन्त्रीको निवासमा प्रहरीको खानतलासीसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
आयोजक अमेरिकाले फिफा विश्वकप २०२६ को अन्तिम ३२ (नकआउट चरण) मा आफ्नो स्थान सुरक्षित गरेको छ । समूह 'डी' अन्तर्गत गएराति सम्पन्न खेलमा अस्ट्रेलियालाई २-० ले पराजित गर्दै अमेरिका नकआउट चरणमा प्रवेश गरेको हो ।  

सियाटल रंगशालामा भएको खेलमा अमेरिकाले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थियो, जसलाई अस्ट्रेलियाले दोस्रो हाफमा तोड्न सकेन ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक शनिबार चितवनमा बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा बैठक दिनको १ बजे भरतपुरस्थित होटल सीएमटीको बैठक हलमा आयोजना गरिएको हो।
००००
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गर्दशन २०८३ जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन २०८३ शुक्रबार जारी गरिएको बताए ।
००००
इजरायल र हिजबुल्लाहबीच नयाँ युद्धविरामको सहमति भएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन्। दक्षिणी लेबनानमा ४७ जनाको ज्यान जाने गरी इजरायलले गरेको भीषण हवाई आक्रमण र हिजबुल्लाहको प्रतिआक्रमणपछि यो सहमति सार्वजनिक भएको हो ।
००००
नेपालमा यसवर्षको मनसुन औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले सरदर मिति जुन १३ तारिखमा मनसुन प्रवेश गर्ने भए पनि यस वर्षको मनसुन असार ५ गते (जुन १९) मा औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश गरेको जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेशका केही भूभागमा पूवेश गरेको मनसुन अहिले निकै कमजोर रहेको छ । देशभर मनसुन फैलिन भने समय लाग्ने बताइएको छ ।
००००
फिफा विश्वकप अन्तर्गत समूह 'सी' को रोमाञ्चक खेलमा मरोक्कोले स्कटल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको छ । बोस्टन स्टेडियममा शनिबार बिहान भएको उक्त खेलमा मरोक्कोका लागि खेलको सुरुवातमै भएको गोल नै निर्णायक सावित भयो ।

खेल सुरु भएको ७१ सेकेन्डमै मरोक्कोका इश्माएल साइबारीले ब्राहिम दियाजको उत्कृष्ट पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
००००
जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिनका अनुमति दिएको छ ।

न्यायाधीश आत्मदेव जोशीको इजलासले शनिबार सभापति लामिछानेको संगठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन आदेश गरेको हो ।
००००
विभिन्न होटेलदेखि कम्पनी, कारखानामा कार्यरत सुरक्षा गार्डको हातमा होस् वा चलचित्र छायांकन गर्ने टोलीसँग, हामीले जहाँतहीँ देख्ने 'वाकी-टकी' (टू वे रेडियो ) केवल एउटा खेलौना वा सामान्य उपकरण मात्र होइन । यो देशको राष्ट्रिय सुरक्षा र सञ्चार प्रणालीसँग जोडिएको एक संवेदनशील रेडियो यन्त्र हो ।

तर, पछिल्लो समय नेपालमा सरकारी नियमको धज्जी उडाउँदै अनलाइन बजार र सामाजिक सञ्जालहरूमा विनाइजाजत खुला रूपमा वाकी-टकीको व्यापार भइरहेको पाइएको छ ।
००००
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट (कैलाली)लाई नियुक्त गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।
००००
सरकारले विभिन्न मितिका मन्त्रिपरिषद् बैठकबाट भएका १५० निर्णयहरू सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत वैशाख र जेठ महिनामा बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उकालो लागेर दुई हजार सात सय दुई दशमलव ११ मा पुगेको छ ।
००००
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ।

चिडियाखानाले जारी गरेको सूचनाअनुसार चिडियाखाना परिसरभित्र रहेका विभिन्न जीवजन्तुमा बर्डफ्लु संक्रमण देखिएको छ ।
००००
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको सरकारी निवासमा प्रहरीले छापा हानेको छ । विराटनगरस्थित मन्त्री पराजुलीको सरकारी निवासमा गएराति ११ बजेतिर प्रहरीले छापा हानेको हो । 

प्रहरी स्रोतका अनुसार प्रहरीले उनको कोठामा पुगेर खानतलासीसमेत गरेको थियो । घटना हुँदा मन्त्री पराजुली भने विराटनगर बाहिर थिए ।

निवासमा रहेका एक कर्मचारीले पनि राति आएको प्रहरी टोलीले केही समयसम्म परिसरमा गतिविधि गरेको बताए ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले भने आपराधिक गतिविधिमा संलग्न विमल भट्टराईलाई खोज्न गएको बताए । ‘हामीले छापा मारेका होइनौं। एउटा सूचना आएपछि प्रहरी त्यहाँ गएको हो,’ एसपी कटुवालले भने, ‘सूचना पुष्टि नभएपछि टोली बाहिरबाटै फर्किएको थियो।’ 

आपराधिक घटनामा संलग्न विमल भट्टराईको खोजीमा प्रहरी मन्त्रीको निवास नजिक मात्र पुगेको उनको दाबी छ ।
००००
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । 
परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

प्रकाशित नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ६५ हजार १९० जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । यो कुल सहभागीको ६४.१३ प्रतिशत हो।
००००
गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो,उजुरी तथा सुझाव सङ्कलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृहमन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी,पारदर्शी, तथा चुस्त बनाउनको लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्र्तगत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्