
भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा राजधानी काराकासमा ठुलो क्षति पुगेको छ । भूकम्पका कारण काराकासका कैयौँ भवनहरू भत्किएको बीबीसीले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको मात्र ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को दोस्रो शक्तिशाली भूकम्प गएको थियो ।
भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको प्रत्यक्षदर्शीहरूले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई बताएका छन् ।
स्थानीय समयअनुसार बेलुकी १८:०४ बजे मोन्टाल्वान क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो, जसको गहिराइ १३.२ किलोमिटर थियो । यसैबीच अर्को धक्काको केन्द्रविन्दु युमारेभन्दा २३ किलोमिटर दक्षिण–पूर्वमा जमिनबाट १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।
भूकम्पलगत्तै अमेरिकी सुनामी चेतावनी प्रणालीले भेनेजुएला, यूएस भर्जिन आइल्यान्ड्स र ब्रिटिस भर्जिन आइल्यान्ड्सका लागि सुनामीको चेतावनी जारी गरे पनि पछि त्यसलाई रद्द गरिएको छ।
भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डियोस्दादो काबेलोले सरकारी टेलिभिजन च्यानल 'भीटीभी'सँग फोनमा कुरा गर्दै देशका धेरै राज्यहरू भूकम्पबाट प्रभावित भएको जानकारी दिए। प्रारम्भिक विवरणहरूले भूकम्पको तीव्रता ७ म्याग्निच्युडभन्दा धेरै ठुलो रहेको देखाएको उनले बताए।
भूकम्पको समयमा राजधानी काराकासमा व्यापक त्रास फैलिएको थियो। रोयटर्ससँग कुरा गर्दै एक प्रत्यक्षदर्शीले आफ्नो भवनका कैयौँ पर्खालहरू चर्किएको र भत्किएको बताए ।