
विश्वकप २०२६ अन्तर्गत समूह 'आई' को अन्तिम खेलमा सेनेगलले इराकलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ। टोरन्टो स्टेडियममा भएको खेलमा सानदार प्रदर्शन गर्दै सेनेगलले नकआउट चरणमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाएको छ भने इराक प्रतियोगिताबाट बाहिरिएको छ।
खेलको सुरुवाती समयदेखि नै सेनेगलले खेलमाथि पकड जमाएको थियो। खेल सुरु भएको चौथो मिनेटमा नै हबिब डियाराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए। खेलको १३ औं मिनेटमा इराकका डिफेन्डर रेबिन सुलाकाले साडियो मानेलाई लडाएपछि रेफ्री एन्थोनी टेलरले भीएआरको सहयोगमा उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए। १० खेलाडीमा सीमित भएपछि इराक खेलभरि दबाबमा देखियो।
पहिलो हाफमा १-० को अग्रता लिएको सेनेगलले दोस्रो हाफमा थप आक्रामक खेल प्रदर्शन गर्यो। ५६ औं मिनेटमा इस्माइला सारले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसको केही मिनेटमै मैदान छिरेका विकल्प खेलाडी पापे गुयले ५९ औं र ७१ औं मिनेटमा दुई उत्कृष्ट गोल गर्दै स्कोर ४-० पुर्याए। खेलको ८२ औं मिनेटमा इलिमान एनडियायेले गोल गर्दै सेनेगलको ५-० को जित सुनिश्चित गरे।
फ्रान्स र नर्वेसँगको हारपछि दबाबमा रहेको सेनेगलका लागि यो जित निकै महत्वपूर्ण सावित भएको छ। यो नतिजासँगै सेनेगल समूह 'आई' को तेस्रो स्थानमा उक्लिएको छ। यद्यपि, 'बेस्ट थर्ड-प्लेस्ड' टोलीका रूपमा अन्तिम ३२ मा स्थान बनाउन सेनेगलले अब अन्य समूहका खेलहरूको नतिजा कुर्नुपर्नेछ।
४३,०३६ दर्शक उपस्थित रहेको टोरन्टो स्टेडियममा सेनेगलका पापे गुय 'प्लेयर अफ द म्याच' का रूपमा छाए। हारसँगै इराकको विश्वकप यात्रा भने समूह चरणमै टुङ्गिएको छ।