०४ साउन २०८३, सोमबार
विश्वकप

ह्यारी केनको सनसनीपूर्ण प्रदर्शन : कंगोलाई स्तब्ध पार्दै इंग्ल्याण्ड अन्तिम १६ मा

असार १७, २०८३
काठमाडौं
ह्यारी केनको सनसनीपूर्ण प्रदर्शन : कंगोलाई स्तब्ध पार्दै इंग्ल्याण्ड अन्तिम १६ मा

फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक खेलमा इंग्ल्याण्डले प्रजातान्त्रिक गणतन्त्र कंगो लाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

बुधबार राति सम्पन्न खेलमा इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले नायक सावित भए । उनले अन्तिम १५ मिनेटमा गरेको दुई उत्कृष्ट गोलले सम्भावित हारबाट टोलीलाई जोगाउँदै पुनरागमन जित दिलाएका हुन् । 

अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा कंगोले सातौँ मिनेटमै ब्रायन सिपेन्गाको गोलमार्फत अग्रता लिएको थियो । ७५ मिनेटसम्म सोही अग्रता कायम राख्दै कंगोले इंग्ल्याण्डलाई विश्वकपबाटै बाहिरिने संघारमा पुर्‍याएको थियो । 

तर संकटको घडीमा कप्तान ह्यारी केनले 'क्याप्टेन फ्यान्टास्टिक' को भूमिका निभाउँदै टोलीको उद्धार गरे । खेलको ७५ औँ मिनेटमा एन्टनी गोर्डनको सटिक पासलाई हेडमार्फत जाली चुमाउँदै केनले खेललाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि खेल थप रोचक बन्यो र ८६ औँ मिनेटमा पुन: गोर्डनकै पासमा केनले पेनाल्टी बक्सको नजिकबाट प्रहार गरेको सशक्त सट सिधै गोलको माथिल्लो कुनामा छिरेपछि स्टेडियममा रहेका इंग्लिस समर्थकहरू खुसीले झुमेका थिए । केनको यो गोलले इंग्ल्याण्डलाई २–१ को अग्रता दिलायो भने जुन अन्ततः निर्णायक सावित भयो ।

प्रशिक्षक थोमस टुचेलले दोस्रो हाफमा गरेका रणनीतिक परिवर्तनहरू इंग्ल्याण्डको जितमा सहयोगी सावित भयो । मिडफिल्डर डेक्लान राइसलाई केही समयका लागि रक्षापङ्क्तिमा सार्नु र थप आक्रामक खेलाडीहरू मैदान प्रवेश गराउनुले टोलीमा नयाँ ऊर्जा थपेको थियो । एन्टनी गोर्डनले दुवै गोलका लागि 'असिस्ट' गर्दै केनलाई गोल गर्ने सुवर्ण अवसर सिर्जना गरिदिएका थिए ।

यो जितसँगै अब इंग्ल्याण्डले आगामी जुलाई ६ मा मेक्सिकोको सामना गर्नेछ । दुई गोलसँगै ह्यारी केन यस विश्वकपमा ५ गोल पुर्‍याउँदै गोल्डेन बुटको दौडमा पनि सशक्त रूपमा अगाडि बढेका छन् । हारसँगै कंगो भने घर फर्किने भएको छ । 

कमेन्ट गर्नुहोस्