०२ साउन २०८३, शनिबार

सुकुम्बासीमाथिको अत्याचार बन्द गर्न एम्नेस्टी इन्टरनेशनल नेपालको माग, पुनःस्थापनाको वाचा पूरा गर्न आग्रह

असार २४, २०८३
काठमाडौं
सुकुम्बासीमाथिको अत्याचार बन्द गर्न एम्नेस्टी इन्टरनेशनल नेपालको माग, पुनःस्थापनाको वाचा पूरा गर्न आग्रह

एम्नेस्टी इन्टरनेशनल नेपालले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूमाथि भइरहेको ज्यादती बन्द गर्न आग्रह गरेको छ ।

बुधबार विज्ञप्तिमा जारी गर्दै एम्नेस्टी इन्टरनेशनल नेपालले सरकारलाई व्यवस्थापन र पुनःस्थापनाको आफ्नो वाचा पूरा गर्न आग्रह गरेको हो ।

'विगत ७० दिनभन्दा बढी समयदेखि होल्डिङ सेन्टरमा राखिएका उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ सेन्टरबाट हट्न अल्टिमेटम दिने, धाकधम्की दिने तथा भोकमरीको जोखिममा धकेल्ने निन्दनीय, निकृष्ट, अमानवीय र गम्भीर मानवअधिकार उल्लङ्घनजन्य कार्यहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' जारी विज्ञप्तिमा भनिएको छ, 'यस्तो कार्य कुनै पनि सभ्य समाज, विधिको शासनमा चलेको मुलुक, जननिर्वाचित सरकार वा सामाजिक लोकतन्त्रलाई आफ्नो आदर्श मान्ने जनमानस, सङ्घ संस्था, अभियान र राजनीतिक दल समेतले किमार्थ चिताउने वा कल्पना गर्न र वैधता दिन मिल्ने विषय होइन।'​

होल्डिङ सेन्टरमा रहेकाहरूको आवास, खाद्य सुरक्षा तथा आधारभूत सेवाको तत्काल सुनिश्चित गर्न पनि एम्नेस्टीले आग्रह गरेको छ ।

'आफैंले उठिबास लगाई आवासविहीन र विकल्पविहीन अवस्थामा पुगेका नागरिकहरूलाई राज्यको संरक्षणमा राखिसकेपछि उनीहरूको आवास, खाद्य सुरक्षा तथा अन्य न्यूनतम् आधारभूत मानवअधिकारको परिपूर्ति गर्ने दायित्व नेपाल सरकारको हो । त्यसैले होल्डिङ सेन्टरमा रहेका सबै पीडितहरूको आवास, खाद्य सुरक्षा तथा आधारभूत सेवाको तत्काल सुनिश्चित गर्न र मुलुकको मानवअधिकार छविमा कालो पोत्ने कार्य तुरुन्त रोक्न नेपाल सरकारका सम्बन्धित निकायसमक्ष हामी जोडदार माग गर्दछौं,' जारी विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्